Breaking

सबैको निशानामा कृष्णबहादुर महरा, प्रचण्डले जोगाएको गगन–ओलीको आरोप


काठमाडौँ — कुनै समय जनताको जीवनस्तरमा परिवर्तन ल्याउने भन्दै युद्धमा होमिएको माओवादीका नेताहरू नवधनाढ्यमा परिणत भएका छन् । कतिपय नेताहरू त काण्डैकाण्डमा फसेका छन् । तर, राज्यले अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । सर्वहारा नेता सत्तामा पुगेर सधै विवादित र काण्डैकाण्ड मच्चाउने मध्ये एक हुन कृष्णबहादुर महरा । माओवादीका धेरै नेता तथा कार्यकर्ताका उनी ‘महरा सर’ हुन् । जनयुद्ध सुरू हुनुअघि रोल्पामा शिक्षक रहेका महरा माओवादी द्वन्द्वको उत्कर्षमा महत्वपूर्ण जिम्मेवारीमा थिए ।

माओवादी युद्धअघि नै सांसद भइसकेका महरा माओवादी शान्ति प्रक्रियामा आएसँगै सँधै लाभको पदमा बसे । उनी तीन पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भए । पहिलो पटक सञ्चारमन्त्री भएका बेला कौडीको भाउमा बेचिएको फ्रिक्वेन्सी प्रकरण होस् वा पूर्वमाओवादी लडाकुको नाममा सरकारले दिएको चेक आफ्नो नाममा लिएर होस् महरा सधै विवादको केन्द्रमा रहे । महरा सभामुख हुँदा संसद सचिवालयकी एक कर्मचारीलाई करणी गरेको आरोपमा जेल नै परे । तर, अदालतले महरालाई सफाइ दिएपछि जेलमुक्त भए । माओवादीले टिकट दिए पनि उनले गत निर्वाचन लडेनन् ।

तर, पार्टी काममा सक्रिय भए । फेरि राजनीतिक शक्तिमा फर्किने तयारी गरिरहँदा महरा सुन तस्करी प्रकरणमा मुछिएका छन् । माओवादी उपाध्यक्षसमेत रहेका पूर्वसभामुख महरा र उनका छोरा राहुलको ९ किलो सुन भित्र्याउने तस्करसँगको साठगाँठ देखिएको छ ।यध्यपी महाराका छोरा राहुलले सम्वाद भएको स्विकारे पनि कोहीसंग बोलेकै भरमा अभियुक्त करार गर्न नहुने गुनासो गरेकाछन् ।

लामो सयम मुख नखोली बसेका उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमा मार्फत प्रतिक्रिया सार्वजनिक गरेकाछन् । तर, अनुसन्धान नहुँदा सरकार, गृह प्रशासन र अनुसन्धानकारी निकायमाथि नै अविश्वास पैदा भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महराको विषयलाई जोडतोडले उठाएको छ ।

माओवादीभित्र शालीन र भद्र देखिने महरा पछिल्लो समय काण्डै काण्डमा फसेका छन् । तर, सत्तारुढ माओवादी केन्द्रको उपाध्यक्ष भएका कारण महरा अनुसन्धानको दायरामा आएका छैनन् । महरामाथि अनुसन्धानसमेत नहुनु र अन्य दलका नेता तथा कार्यकर्ता पक्रिनुले आग्रह पूर्वाग्रहको गन्ध आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ मात्रै होइन, सत्तारुढ दल माओवादीका नेताहरूले अनुसन्धानको क्रममा दोषी देखिए कसैलाई पनि नछाड्ने प्रतिवद्धता जनाउँदै आएका छन् । दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने उनीहरूको दाबी छ ।

प्रधानमन्त्रीले सामाजिक न्याय र सुशासनको नारा लगाउँदै आएका छन् । तर, आधारसहित विषय बाहिरिँदासमेत आफ्नै उपाध्यक्षलाई अनुसन्धानको दायरामा ल्याउन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले साच्चिकै सुशासन चाहेको हो भने विवादास्पद कृष्णबहादुर महरा र उनका छोरालाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।