Breaking

प्रचण्ड–ओली र देउवा पानी बाराबार,बन्धक बन्यो सदन,जनताको समस्या कहाँ राख्ने ?


काठमाडौँ — नेकपा एमालेले सय किलो सुन प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखिरहँदाम संसद लामो समयदेखि बन्धक बन्दै आएको छ । यसअघि पनि हरेक विषयमा संसदलाई नै प्रहार गर्दै आएको एमालेले यो पटक भने कसैगरी पछि नहट्ने रणनीति बनाईरहेको छ । कसै गरेपछि एमालेको मन नपग्लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धामा रहेका दलका शीर्ष नेतालाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

पुष १० मा प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाएका एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता विमुख भएयता पाइला पाइलामा प्रचण्डलाई गलाउन सबै अस्त्र प्रयोग गरिरहेका छन । प्रचण्डले धोका दिएपछि प्रतिपक्षमा पछारिएको एमाले स–साना विषयमा समेत सदन अवरोधको थिति बसाल्न उदत्त छ । गठबन्धन सरकारको भ्रष्टचारविरुद्धको अभियान प्रतिपक्ष एमालेलाई भारी परिरहेको छ ।

पशुपतिको जलहरी प्रकरणमा सदन अवरोध गरेको एमालेले प्रधानमन्त्रीको भारत भ्रमणपछि पनि सदन नै अवरोध गर्यो । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरुद्ध राजीनामा नै मागेर सदन अवरुद्ध गरेको एमालेले अहिले फेरि सुन प्रकरणलाई लिएर संसद बन्धक बनाउँदै आएको छ । यसअघि शीर्ष नेतृत्वको सहमतिमार्फत सदन खुल्दै आएको थियो । तर साउन १० यता प्रतिपक्ष एमालेले चलाएको सदन अवरोधको शृङखला तत्कालै टुंगिने छाँट देखिदैन । सय किलो सुन प्रकरण उच्चस्तरीय छानबिन समिति गठन एमालेको प्रतिष्ठाको विषय बन्दै आएको छ

सदनमा देखिएको गतिरोध अन्त्य गर्न प्रमुख दलका शीर्ष नेताहरु एक निमेस पनि गम्भीर छैनन् । उनीहरु जसरी हुन्छ, आफ्नो बालहठ लादेर अघि बढ्न चाहन्छन् । वैकल्पिक राजनीतिक शक्तिको रुपमा पनि आफ्नो भुमिका बलियो बनाउन सकिरहेका छैनन् । ठुला दललाई दोष दिने, आफ्नो भुमिकालाई पनि स्पष्ट नपार्ने प्रवृत्ति उनीहरुको देखिन्छ । साउन २३ अघि सभामुखकै पहलमा ओली प्रचण्ड र देउवा तीन–तीन पटक भेट गरेर घण्टौ छलफल गरे । तर शीर्ष नेताहरुको वैठक अर्थहीन बन्यो ।

साउन २३ मै सभामुख र राजनीतिक दलका सचेतकहरुबीच सदन खुलाउन सहमति पनि जुट्यो । तर गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि एमालेले पुनः सदनको अवरोधलाई निरन्तरता दियो । त्यसपछि पनि २४ साउनमा प्रचण्ड–देउवा र प्रचण्ड–ओलीबीच छुट्टा छुट्टै भेट भए । २५ साउनमा प्रचण्ड–देउवाको भेट भयो, तर सदनको गतिरोध हटेन । केहि दिनयता शीर्ष नेतृत्व संवादहिनताको अवस्थामा छन् ।

सदन खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले समेत पहल नथालेका होईनन् । आ–आफ्नै राजनीतिक स्वार्थले संसद गिजोल्दै आएका शीर्ष नेताहरु सदनको गतिरोध अन्त्य गर्नेबारे केही दिनदेखि चुपचाप छन् । प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारमा लागेका छन भने ओली–देउवाले पनि सदन खुलाउनेबारे कुनै अग्रसर देखाएका छैनन् ।

बाढि पहिरो पीडितहरु खुला आकाशमुनी रात बिताउन बाध्य भईरहेका छन् । विद्येयकहरु अलपत्र अवस्थामा छन् । कानुन अभावमा पीडितहरुको माईतीघर बसाईं झन लम्बिँदो छ छ । शीर्ष नेतृत्व भने सदन खुलाउने विषयमा सौदावाजी गरेर बसिरहेका छन् ।

प्रतिपक्षी दल नेकपा एमालेले पेलेरै अघि बढ्ने रणनीति बनाएपछि यसबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सोमबार गठबन्धनभित्रका दलका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । सुन प्रकरणलाई लिएर भइरहेको संसद अवरोध, भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलमा बढेको आशंकालगायतको विषयमा छलफल प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।