Breaking

सुनिल शर्माको अनसन, सभामुखसँग रवि रिसाए, एमाले–माओवादीको भीडन्तमा रमिते बन्दै कांग्रेस


काठमाडौँ — एमालेको अवरोध र अरु दलको प्रतिवादका कारण सोमबार पनि प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित भयो । सुन तस्करी प्रकरणमा सरकारी संयन्त्रको अनुसन्धान प्रमुख प्रतिपक्षीलाई चित्त नबुझ्ने, तर सत्ता पक्ष सरकारी संयन्त्रबाटै अनुसन्धान हुनुपर्ने अडानमा रहँदा साउन १० गतेदेखि संसद बन्धक बन्दै आएको छ । लामो समयदेखि संघीय संसद नै अवरोध हुँदा संसदीय पद्धतिमाथि नै प्रश्न उठिरहँदा दलहरु जिम्मेवार बन्न सकिरहेका छैनन् ।

सोमबार जस्तै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको ठ्याक्कै ३ हप्ता बित्यो । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद बैठक अवरोध गर्दै आएको छ । सुरुका बैठकहरुमा एमालेले मात्रै उठेर अवरोध गर्ने गरेकोमा अहिले भने अरु दलहरुलेसमेत एमालेको विरोधको प्रतिवाद गर्न थालेका छन् । सभामुख देवराज घिमिरेले कारबाही सुरु गर्न खोज्ने वित्तिकै एमालेका सांसदहरु जर्याकजुरुक्क उठेर विरोध जनाए भने संक्षिप्तमा बोल्न समय कांग्रेस सांसद सुनिल शर्माले पाए ।

लगत्तै माओवादी केन्द्रका सांसदहरु उठेर सांसद शर्माको भनाईमाथि आपत्ति जनाए । माओवादी केन्द्रका सांसद हितराज पाण्डेले आतंककारी भन्ने शब्द प्रयोग भएको त्यो रेकर्डबाट हटाउन आग्रह गरे । माओवादी केन्द्रका सांसदहरुको विरोधलगत्तै एमालेका सांसदहरु फेरि उठेर नाराबाजी गर्न थाले ।

एमालेका सांसदहरुले जाराबाजी गर्ने र माओवादी केन्द्रका सांसदहरुले पनि उठेर त्यसको प्रतिवाद गर्न खोजेपछि संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु पनि उठेर टेबल ठटाउन थाले । सभापति रवि लामिछानेसहितका सांसदहरुले माईक समातेर आफूलाई बोल्न दिन आग्रह गरिरहे, तर सभामुख घिमिरेले उनीहरुलाई बोल्नै दिएनन् ।अन्ततः सोमबारको बैठकमा पनि कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित भयो । वैठकपछि आक्रोश पोख्दै प्रतिनिधिसभा सदस्य एवम् रास्वपा सभापति लामिछानेले आफूहरुलाई बोल्न नदिएर संसद हाइज्याक भएको टिप्पणी गरे ।

लामो समयदेखि संसद अवरोध गर्नु गैरजिम्मेवार कार्य भएको कांग्रेसको कांग्रेसको पनि निष्कर्ष छ । जारी संसद् अवरोध खुलाउन कांग्रेसले सत्तापक्ष र विपक्षी दलहरुसँग संवाद गर्ने निर्णयसमेत गरेको छ । जनताको सरोकारको विषय सदनमा उठ्न नसकेको र महत्वपूर्ण विधेयक पारित हुन पनि नसकेको अवस्थामा यसरी लामो समयदेखि संसदलाई बन्धक बनाएर राख्नु गैरजिम्मेवार कार्य भएको कांग्रेस संसदीय दलको निर्णयले निष्कर्ष निकालेको छ ।

सदनमा प्रतिपक्षी दल आलोचनात्मक रुपमा प्रस्तुत हुनु स्वभाविक भएको तर लामो समयसम्म संसद् अवरुद्ध पारेर छलफल हुन नसक्ने अवस्था ल्याउनु गैरजिम्मेवारपूर्ण कार्य भएकोकोले जिम्मेवार बन्न प्रमुख प्रतिपक्षी एमालेलाई कांग्रेसको आग्रह छ ।

भारी वर्षासँगै देशभर बाढीपहिरो पीडितहरुको बिचल्ली छ । सहकारी, लघुवित्त र मिटरब्याजी पीडितहरु सडकमा न्यायको याचना गर्दै रोइकराई गरिरहेका छन् । महत्वपूर्ण जनसरोकारका विषयमा गम्भीर बहस र सरकारलाई मार्गनिर्देश गर्नुपर्ने सार्वभौम संसद् भने सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको प्रतिष्ठाको लडाइँले बन्धक बनिरहेको छ ।जनसरोकारका तीनवटा संकल्प प्रस्ताव र तीनवटा जरुरी सार्वजनिक महत्वका प्रस्तावसहित प्रतिनिधिसभामा चार र राष्ट्रिय सभामा ११ महत्वपूर्ण विधेयक संसद्मा विचाराधीन छन् । आधा दर्जन महत्वपूर्ण कानुन तत्काल बनाउनुपर्ने दायित्व छ ।

तर, प्रहरी वा राजस्व अनुसन्धान विभागले गर्ने अनुसन्धानप्रति नेकपा एमालेलाई चित्त बुझेको छैन । राज्यको संयन्त्रलाई नै अनुसन्धानमा विश्वास गर्नुपर्ने सत्तापक्षको तर्क छ ।संसदमा हुँदै आएको पटक–पटकको अवरोध मुडभेडतर्फ अघि बढ्दा दुबै पक्षबाट संयमताको खाँचो देखिन्छ ।