Breaking

भातृ संगठनले चिरा पर्दैछ कांग्रेस, सातसय र चारसयको समिति बनाउदा पनि देउवाले चित्त बुझाउन सकेनन्


काठमाडौँ — लामो समय देखि अधिवेशन हुन नसकेको कांग्रेसको भातृ संगठनमा अहिले भटाभट तदर्थ समिति विस्तार गरिएको छ । तर, सबै शीर्ष नेताहरुको सहमतिमा नै केन्द्रीय सदस्यहरुलाई मनोनीत गरे पनि असन्तुष्ट समूहहरु समानान्तर कमिटीको घोषणा गर्ने तयारी गर्दै गर्दा देउवालाई सकसमा परेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दुई साता बित्दा नबित्दै कांग्रेसको भातृ संगठनमा विग्रह देखिन थालेको छ । केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीलाई चलायमान बनाउने भनेपनि त्यो हुन सकिरहेको छैन । लामो समय देखि कुनै पनि भातृ संगठनको अधिवेशन हुन नसकिरहेको अवस्थामा तदर्थ समिति बनाएर अघि बढेपछि कांग्रेसभित्र विवाद सुरु भएको छ ।

विद्यार्थीहरुको नेपाल विद्यार्थी संघ, युवाहरुको तरुण दल र महिला संघको तदर्थ समितिलाई लिएर कांग्रेसका नेताहरु फेरि विभाजित हुन पुगेका छन् । सोमबार कांग्रेस सभापति शेरवहादुर देउवाले नेवि संघ तदर्थ समितिमा सात सय १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । इतिहासकै जम्बो तदर्थ समिति गठन हुँदा पनि सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूह विरोधमा र नेवि संघकै अर्को समूह समर्थनमा बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका थिए । एकातर्फ पार्टी सभापति शेरबहादुर देउवा र नेवि संघ सभापति दुजाङ शेर्पाको जय–जयकार मनाई रहँदा त्यही अर्का तर्फ भने कांग्रेस देउवा र शेर्पाको निजी कम्पनी नरहेको भन्दै नाराबाजी गरिरहेका दृश्य देखिन्थ्यो ।

यता नेताको दैलो चाहार्नेफोटो खिच्ने र आरजू भाउजुलाई बचाउन विज्ञप्ति निकाल्ने बाहेक अरु काम देखाउन नसकेको तरुण दलले गएको १५ वर्षदेखि नियमित महाधिवेशन र नेतृत्व चयन गर्न सकेको छैन । जीतजंग बस्नेत नेतृत्वको तरुण दलले काम गर्न नसकेपछि सभापति देउवाले सुरूवाती एक वर्षपछि महाधिवेशन गर्ने कार्यभार सहित ०७८ को चैतमा विद्वान गुरूङलाई अध्यक्ष मनोनीत गरेका थिए । त्यसको बल्ल डेढ वर्षपछि गुरूङ नेतृत्वको ४०१ सदस्यीय केन्द्रीय समितिले केही महिना अघि मात्रै पूणर्ता पाएको थियो । तर, सबैको राजी खुशीमा नै भएको यो तदर्थ समिति पनि विवादमुक्त भने हुन सकेन ।

लिंग, जाति र क्षेत्रगत हिसावले चरम असमावेशी रहेको भन्दै तरुण दलमा आउन चाहनेलाई रोकेकोमा पार्टीभित्र असन्तुष्ट देखिएको थियो । सभापतिकै राजनीनामा मागेर भद्रगोल भईरहेको नेपाल महिला संघमा पनि विवाद देखिएको छ । संघकी सभापति उषा राउत मिश्रले आफूखुसी १२ जिल्ला सभापतिलाई हटाएर निकटकालाई मनोनीत गरेको भन्दै पार्टीले कारबाही गर्न दिएको तीन दिनको अल्टिमेटम पनि बुधबार सकिसकेको छ । २० केन्द्रीय सदस्यले सभापति मिश्रलाई बर्खास्त गर्नुपर्ने माग गर्दै पत्रकार सम्मेलन नै गरेका थिए । उनीहरुले सभापति एकलौटी ढंगमा अघि बढेको आरोप लगाएका छन् ।

सबै समूहलाई समेट्दै जम्बो टोलीकै तदर्थ समिति घोषणा गर्दा पनि संस्थापनबाहेक कांग्रेसको शेखर–गगन समूह र सिटौला समूह असन्तुष्ट देखिएका छन् । दुवै समूहले सहमतिअनुसार आफ्नो समूहबाट पठाइएको नाम संस्थापन समूहले मनोमानी ढंगले हटाएर आफूखुसी समिति घोषणा गरेको आरोप लगाइरहेको अवस्था छ । लामो समय राजनीति गरेका र नेतृत्वमा आउने सम्भावना भएकालाई हटाउन खोजेको असन्तुष्ट पक्षको आरोप छ । तर, पार्टीमा यस्ता साना तिना असन्तुष्टिहरुलाई सामान्य रुपमा नै लिनु पर्ने संस्थापन पक्षको भनाई छ।

पार्टीका शीर्ष नेताले सामान्य असन्तुष्टि भने पनि सन्तुष्ट विद्यार्थी नेताहरू भने बुधबार नेविसंघको समानान्तर कमिटी घोषणा गर्ने तयारीमा छन् । यसले एकपछि अर्काे विवादमा कांग्रेसका नेताहरू विभाजित हुन थालेको देखिन्छ । लामो समय देखि कुनै पनि भातृ संगठनको महानधिवेश हुन नसकिरहेको अवस्थामा देउवाले सबैका सहमतिमा नेताका खल्तीकै कार्यकर्तालाई केन्द्रीय सदस्य बदाउँदै धमाधम तदर्थ समिति विस्तार गरेका छन् । तर, अपेक्षा गरिए अनुसार कांग्रेस चल्न नसकिरहेको अवस्थामा पार्टी भित्रैको फुटले देउवालाई थप सकस दिएको छ ।