Breaking

ओली र आरजुको पेलानमा गृहमन्त्री, वर्षमान र कृष्णबहादुर जोगाउँदा आफैंतिर सोझिँदै हतकडी !


काठमाडौँ — सत्ताको तालाचाबी माओवादी केन्द्रसँग छ । तर, प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको मुख्य पिल्लर भने नेपाली कांग्रेस हो । भ्रष्टहरु कसैलाई छाडिन्नँ भनेर बार्दलीबाट कराउनुभन्दा पहिले आफ्नो धरातल कुन हो भन्ने हेक्का राख्नुपर्ने बाध्यता छ सरकारलाई । अझ, आरोपितको हातमा हतकडी लगाउँदा कांग्रेसको मुहार हेर्दै १० चोटी सोच्नुपर्ने विषयले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पिरोल्न थालेको छ ।

उनी अहिले सत्ता बाहिर र सत्ता भित्रैबाट पनि चर्को घेराबन्दीको दलदलमा फस्न थालेका छन् । शैक्षिक प्रमाणपत्र किर्ते मुद्दामा पक्राउ परेको दोस्रो दिन नै जिल्ला अदालतको आदेश लिएर नेपाली कांग्रेसका सांसद सुनिल शर्मा शुक्रबार थुनामुक्त भए । एक क्वीन्टल सुन प्रकरणको निष्पक्ष छानविन गर्न गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका उनलाई सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

रिहा लगत्तै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि आक्रोश मात्रै पोखेनन्, आतंककारी नै भनेर रिस व्यक्त गरे । जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम गरेको गुन तिर्न प्रतिशोध साँधेर आफ्नो हातमा हतकडी लगाउने दुत्साहस गरेको र त्यो कदम गलत छ भनेर अदालतले देखाईदिएको सांसद शर्माले बताए । गृहमन्त्री श्रेष्ठलाई शक्तिको उन्माद भएकोले पदमा बस्ने अधिकार १ सेकेन्ड पनि नभएको भन्दै सांसद शर्माको श्वर चर्किन थालेको छ ।

कांग्रेस सांसद शर्माको हातमा लागेको हतकडी पक्राउ परेको दोस्रो दिनमै फुकाउनुपर्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक दबाव त थपिएको छ नै, उनीमाथिको आलोचना गर्नेहरुको श्वर पनि ठूलो हुँदै गएको छ । अदालतले थुनामुक्त गर्दा देख्यौ गृहमन्त्री ? भन्नेहरुको जमातलाई मलजल गर्न सजिलो भएको छ । गृह मन्त्रालय अन्तर्गत सीआईबीको टोलीले नै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझीलगायतलाई पक्राउ गरेदेखि नै कांग्रेस र एमालेका एक तप्का गृहमन्त्री श्रेष्ठमाथि ज्यानै दिएर लागिपरेका छन् ।

त्यसैको बदला लिने मौका छोपेर बसेको नेकपा एमालेलाई एक क्वीन्टल सुन प्रकरण मसला बनेर आयो । यो प्रकरणमा गृहमन्त्री श्रेष्ठ नै मुख्य दोषी हो भनेर प्रचार गरिरहेको एमालेले कांग्रेस सांसद शर्मालाई सीआईबीले पक्रँदा संसद बैठक नै अवरुद्ध गर्यो । सांसद शर्मा पक्राउ पर्दा कांग्रेसलाई भन्दा बढि ज्वरो एमालेलाई उठ्यो । अहिले सरकारविरुद्ध जसले मुख खोल्यो, त्यसलाई पक्कै पोल्यो भन्ने बुझ्नुपर्ने अवस्था आएको बताउँछन् एमाले अध्यक्ष केपी शर्मा ओली ।

यसअघि पनि अनेक लान्छना लगाउँदै पटक–पटक गृहमन्त्री श्रेष्ठलाई घेराबन्दीमा पार्ने कोसिस ओलीबाट नभएको होईन । गृहमन्त्री श्रेष्ठको कदमले हायल कायल भएका ओलीले सरकार नै ढाल्ने प्रपञ्च पनि नरचेका होइनन् । बरु हामीलाई प्रधानमन्त्री चाहिँदैन, तर, माओवादीसँगको सत्ता गठबन्धन भत्काउनुपर्यो भन्ने प्रस्ताव अहिले पनि ओलीले देउवा निवास धुम्बाराहीमा पुर्याईरहेका छन् । उसो त गृहमन्त्री श्रेष्ठसँग कांग्रेस सभापति शेरबहादुर देउवा पनि त्यति सन्तुष्ट छैनन् ।

केही दिनअघि मात्रै संयमित भएर काम गर्न देउवाको सुझाव थियो । सांसद शर्मा पक्राउ प्रकरणले गृहमन्त्री श्रेष्ठलाई राजीनामा गराउन लगाउनुपर्ने कांग्रेसभित्रको तप्कासमेत बलियो बन्दै गएके छ । यस्तोमा आफ्नो गृहमन्त्री र सरकारकै भविश्य खोज्दै गृहमन्त्री श्रेष्ठ देउवा निवास धुम्बाराही पुगेका छन् । विभिन्न कदम अघि बढाउँदा अनेक दबाब राज्यले झेल्नुपर्ने ईतिहाँसलाई सम्झिएर आवश्यक संसमता अपनाउँदै सरकारको निष्पक्ष कदम अघि बढ्नुपर्ने बताउँछन्, नेपालको राजनीतिलाई नजिकबाट नियाँलिरहेकाहरु ।

गौर हत्याकाण्डका पीडितहरुसँग ५ बुँदे सहमति गरेको सरकारसँग सत्ता साझेदार दल जनता समाजवादी पार्टी पनि रिसाएको छ । आफूलाई फसाउन गृह मन्त्रालयले पीडितसँग दोषीलाई कारबाही गर्ने भनेर ५ बुँदे सहमति गरेको जसपा अध्यक्ष उपेन्द्र यादवको आरोप छ । प्रचण्डको ईशारामा एकपछि अर्को काण्डका फाईल झिक्दै हतकडी बोकेर दौडिरहेका गृहमन्त्री श्रेष्ठ आफ्ना पार्टीका आरोपितलाई भने जोगाएको हप्की खेप्नुपरेको छ ।

सुन तस्करी प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोरा र १ क्वीन्टल सुन प्रकरणमा पक्राउ परेकाहरुसँग पारिवारिक सम्बन्ध रहेको भनिएका वर्षमान पुनहरुलाई जोगाएको सरकारमाथि लागेको आरोप हो । अनेक आरोप र घेराबन्दीको पहाड फोड्न कहिँ कतैबाट निकास निकाल्नैपर्ने दवाबमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् ।