Breaking

सरकारको स्थिरतामा शंका नगर्न उपप्रधानमन्त्री खड्काको आग्रह


काठमाडौँ — उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गरेका छन् । शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे । उनले व्यापार, व्यवसायमा रहेका समस्याहरूको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको पनि बताए ।

अहिलेको अफ्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउन मुलुकमा सुशासनको नागरिकलाई अनुभूति दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ,’ उनले भने, ‘यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन ।

हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौं । उनले नागरिक र देशलाई केन्द्रबिन्दु राखेर सरकारले काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताए ।