Breaking

कोशी प्रदेश स्वास्थ्यमन्त्रीमा निर्मला लिम्बू


काठमाडौँ — कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट एकमात्र सांसद रहेकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन् । यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्य मन्त्री थिइन् । गत जेठ १७ मा उनले पदबाट राजीनामा दिएकी थिइन् ।

पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएकी लिम्बू मुख्यमन्त्री थापाले आन्दोलनरत पक्षसँग वार्ता गर्ने आश्वासन दिएपछि मन्त्री बनेकी हुन् ।