Breaking

कोशी प्रदेश सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय चुलो वितरण सुरु गर्यो


काठमाडौँ– कोशी प्रदेश सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय चुलो वितरण सुरु गरेको छ ।प्रतिगोटा साढे १३ हजार रुपैयाँमा खरिद गरिएका ६१३ वटा विद्युतीय चुलो वितरण सुरु भएको हो । प्रदेश सरकारले टेण्डरमार्फत अगेनो ब्राण्डका ६१३ वटा विद्युतीय चुल्हा खरिद गरेको थियो । ती चुलो सांसद र प्रदेश मातहतका कर्मचारीलाई वितरण गरिरहेको छ ।

खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयले खरिद गरी कोशी प्रदेशसभाका सांसदका लागि ८८ वटा र कर्मचारीका लागि ३१ वटा चुलो प्रदेश सभा सचिवालयमा पठाएको थियो । प्रदेशसभाका सूचना अधिकारी निरोज ढकालका अनुसार बिहीबारसम्म २१ जना सांसदले चुलो बुझेर लगेका छन् ।

खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयले खरिद गरेको विद्युतीय चुलोमा इन्डक्सन र इन्फारेड गरी दुई सुविधा रहेको मन्त्रालयका सूचना अधिकारी राजेन्द्र माझीले बताए । इन्फारोडमा अन्य भाँडाकुँडामा पनि पकाउन सकिन्छ । इन्डक्सनमा पकाउने भाडा भने म्यागनेटिक बेसमा आधारित हुन्छ ।

मन्त्रालयले १३ हजार चार सय रुपैयाँका दरले खरिद गरेको चुल्हो बजारमा भने १० हजार ५०० रुपैयाँदेखि १२ हजार ५०० रुपैयाँसम्ममा पाइन्छ । व्यापारीका अनुसार प्रदेश सरकारले खरिद गरेकै अगोनको ब्राण्डको मोडल नम्बर ‘एजीएन–डी आईआई–१००’ को बजार मुल्य १० हजार ५०० देखि १२ हजार रुपैयाँमा पाइन्छ ।