Breaking

सुनकाण्डमा मच्चिएका सुनिल नक्कली डाक्टर बन्दा खोरमा, नारायणकाजीको राजीनामाले डुबायो, यस्तो छ प्रमाण


काठमाडौँ — सत्तागठबन्धनमै रहेर सरकारको विरोध गर्ने सांसद सुनिल शर्मालाई सीआईबीले पक्राउ गरेको छ । बिहिबार गल्फुटारबाट सांसद शर्मा पक्राउ परेका हुन् । तर राजनीतिक प्रतिशोधकै आधारमा शर्मा पक्राउ परेका हुन् कि भन्ने शंका गरिएको छ । सुनकाण्डमा सबैभन्दा चर्र्किएर विरोध गर्ने सत्तापक्षका कोही नेता थिएभने, सायद त्यो सुनिल शर्माहुनुपर्छ । अर्थात् नेपाली काँग्रेसका सांसदसुनिल शर्माले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतकै संलग्नता रहेको भन्दै संसददेखि सडकसम्मै विरोध गरेका थिए । तर उनै शर्मा बुधबार पक्राउ परेका छन् ।

उनी सुन तस्करीको आरोपमा पक्राउ परेका होइनन्, उनीशैक्षिक प्रमाणपत्र किर्ते र नक्क्ली चिकित्सक उत्पादन गरेको आरोपमा पक्राउ परेका हुन् । किनकि उनी सुनिल शर्मा मात्रै होइनन्, डाक्टर सुनिल शर्मा हुन् । त्यही डाक्टरीको प्रमाणपत्र नक्कली भएको भन्दै शर्मालाई शर्मनाक हुनेगरि सीआईबीले फन्दामा लिएको हो । तर यसलाई सत्ताको विरोधसँग पनि जोडिएको छ । गठबन्धनभित्र सत्तारुढ दलकै सांसद भएर सत्ताकै विरोध सदनबाट गरिसकेपछि उनी आम सञ्चारमा छाएका थिए । गृहमन्त्री र अर्थमन्त्रीलाई तस्करीको आरोप लगाएको यो भिडिओ हेर्नुहोस् ।

काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले विरोध गर्नपाउने भन्दै उफ्रीउफ्री बोल्ने शर्मालाई अहिले आफ्नै सरकारले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुपूर्व काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि सरकारले परामर्श गरेको बुझिएको छ । देउवाको ग्रिनसिग्नल पाएपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीलाई समात्न लगाएका हुन् । तर बहालवाला सांसदलाई सभामुखको जानकारी बिना पक्राउ गर्ननसक्ने नियमावलीको व्यवस्था छ ।

यद्यपी पक्राउ गरिसकेपछि सभामुखलाई पत्र पु¥याएर जानकारी गराएको सीआईबीले ‘भारतीय नक्कली प्रमाणपत्रहरु पेश गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्धारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्रमा सहभागि भएको’ उजुरीको आधारमा पक्राउ गरेको जानकारी सीआईबीले सभामुखलाई गराएको छ ।तर शैक्षिक प्रमाणपत्रको इस्यु पुरानै हो । उनीविरुद्ध उजुरी पहिला पनि नपरेको होइन । उनीमाथि कुनै अनुसन्धान भएको थिएन । अहिले पक्राउ पर्नुलाई सामान्य रुपले हेरिएको छैन ।

व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा उदाएका शर्मा काँग्रेसभित्र शेखर कोइराला समूहका खास मान्छे हुन् । त्यही समूहबाट टिकट पाएर निर्वाचित भएका थिए । पछिल्लो मन्त्रिपरिषद् विस्तार हुँदा उनलाई मन्त्री बनाउने तयारी शेखरको थियो । तर देउवाले नचाहेपछि उनी मन्त्री बन्न पाएनन् । मेडिकल विधाबाटै राजनीतिकमा उदाएका शेखर कोइराला र सुनिल शर्माबीच राजनीतिकमात्र सम्बन्ध नभएर उनीहरुबीच व्यवसायिक सम्बन्ध पनि जोडिएको अर्थात् शेखरकै पैसामा शर्माले मेडिकल क्षेत्रमा रजगज चलाएको आरोप रशंका गरिँदै आइएको छ ।

पछिल्लो समय सार्वजनिक मञ्चबाटै शेखरले प्रचण्डको विरोधमात्रै गरेका छैनन्, राजस्व अनुसन्धान विभागलाई अर्थमा मन्त्रालय मातहतमा फर्काउनुपर्नेदेखि कोशी प्रदेशमा काँग्रेस–एमाले सहकार्यको कोशिस पनि गरेका छन् । सभामुखले मत दिएर कोशी सरकार बनाउन खोजेको विषयमा उनले सत्ता गठबन्धनकै विरोध गरेका थिए । फलतः सुनिल शर्माको पक्राउलाई राजनीतिक प्रतिशोधका अर्थमा समेत हेरिएको छ । तैपनि उनी दोषी भए हदैसम्मको कारबाही हुनुपर्छ । किर्ते गर्नेको सांसद पदसमेत खोस्नुपर्छ । किनकि विगतदेखि नै उनको छबि स्वच्छ छैन ।

उनले सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज कहिले लापरबाहीले विरामीले ज्यान गुमाएको त कहिले आर्थिक अपचलन गरेको आरोपमा आलोचित हुँदै आएको छ । विद्यार्थीबाट अवैद्य रकम असुलि गरेपछि मेडिकल माफियाको आरोपसमेत शर्माले झेल्दै आएका छन् । मोरङको लेटाङमा माध्यमिक तहको अध्ययन गर्दा राजेन्द्र न्यौपाने नाम भएका उनी एसएलसीमा फेल भएपछि कर्णालीको कालिकोट पुगेर पासमात्रै भएनन्, नाम फेर्दै सुनिल शर्मा भएर निस्किएको चर्चा छ । अहिले उनको पिएचडी नै नक्कली भएको भन्दै बेलाबेला विवादमा आइरहन्छ । तथापी यदि बोलेकै भरमा उनी पक्राउ परेका हुन भने त्यो सरकारको निरंकुशतातर्फको यात्रा हो ।