Breaking

ओली–प्रचण्डको सुन साईनो, एक्लियो एमाले, रास्वपा र राप्रपाको साथ प्रचण्डलाई, अलमलमा कांग्रेस


काठमाडौँ — प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा वैठक आजबाट सुचारु भएको छ । सुन प्रकरणलाई लिएर उच्चस्तरीय संसदीय समिति गठनको अडानमा रहेको एमाले र सत्तारुढ दलबीच गृहमन्त्रीले सदनमा जवाफ दिने भएपछि सदन अघि बढेको हो । तर, गृहमन्त्रीको जवाफ लगत्तै आजको बैठक पनि अवरुद्ध भएको छ ।

साउन तीन गते सिनामंगलमा बरामद भएको सय किलो सुन प्रकरणको छानविन प्रक्रियालाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण विधोलिएको सदन १४ दिनपछि पुन सञ्चालनमा आयो । सदन सुचारु गर्नकै लागि शीर्ष तीन राजनीतिक दलका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटे पनि सहमति हुने सकेन ।

तर मंगलवार सभामुख देवराज घिमिरेको पहलमा राजनीतिक दलका प्रमुख सचेतकहरुसँगको छलफलमा सुन प्रकरण र छानविन सम्बन्धमा गृहमन्त्रीले सदनमा जवाफ दिने सर्त सहित सदन अगि बढेको थियो । दलहरुसँगको सर्त अनुसार गृहमन्त्रीले सदनमा जवाफ दिँदै सुन प्रकरणमा उच्चस्तरीय संसदीय समितिको प्रभावकारीता माथी प्रश्न गर्दै तत्कालका लागि सुन प्रकरण संगठित अपराधमा टेकेर नै अनुसन्धान गर्नमा सहयोग गर्न अपिल गरे । ६० दिनभित्र निकास नपाए अनुसन्धानको नयाँ शिरा खोज्न सरकार तयार रहेको उनले बताए ।

तर जसरी पनि उच्चस्तरी संसदीय समिति गठनको पक्षमा रहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई गृहमन्त्रीको जवाफ चित्त बुझेन । गृहमन्त्री श्रेष्ठको जवाफ लगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाए । संसदीय समिति गठन नै एमालेको बटमलाईन हो । गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले उठेको बिषयभन्दा बाहिर गएर गृहमन्त्रीको जवाफ आएको भन्दै असन्तुष्टि पोखे । संसद सरकारको कारणले अवरोध भएको दाबी गर्दै गृहमन्त्रीले एमालेप्रति आरोप लगाउन खोजेको एमालेका सांसदहरुको भनाई थियो ।

बल्लतल्ल सुरु भएको सदनमा प्रतिपक्ष समेत सांसदहरुको प्रश्नको ओइरो लगाएका छन । आकस्मिक समयमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्व प्रकाश शर्माले प्रतिपक्ष एमालेलाई सदन कति दिनलाई खोलेको, सत्तापक्षले बोल्ने थलो रत्नपार्क हो भन्दै प्रश्न गरेका छन । सांसद देवेन्द्र पौडेलले प्रतिपक्ष एमालेलाई सुन प्रकरण छानविनका लागि सहयोग गर्न केले छेक्यो ? भन्दै प्रश्न गरेका छन ।

सदनको प्रतिपक्ष कित्तामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताएका छन । सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग समेत गरेका छन । सुन प्रकरण छानविन गर्दा संसद अवरोध गरेकोप्रति सांसद राजकिशोर यादवले प्रश्न उठाएका छन ।

राप्रपाले तीन दल मिलेर संसद बन्धक बनाएको आरोप लगाएका छन । एमालेको अवरोधपछि प्रतिनिधिसभा वैठक साउन २४ गते बस्ने गरी स्थगित भएको छ । संसदीय समिति गठनका सवालमा दलहरुबीच मतभेद हुँदा संसद पुन दलहरुको स्वार्थको बन्धक बन्ने डर उस्तै छ ।