काठमाडौँ — मनसुस सुरु भएयता अनज यो वर्षकै सबैभन्दा धेरै वर्षा भएको छ । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान भएको छ भने जनजीवन प्रभावित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनलगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले पनि ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायत कार्यमा चुस्तरुपमा लाग्न सर्कुलर पठाएको छ ।
लगातारको भारी वर्षाका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, कपन, सामाखुसी, अनामनगर, बागमती, बिष्णुमती, टोखा, धुम्बाराही, गोंगबु नयाँ बसपार्क लगायत क्षेत्र डुबानमा परेका हुन् । यो बर्षको मनसुन सुरु भएसंगै अहिलेसम्मकै धेरै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै २७२ मिलिमिटर वर्षा भएको छ भने सिन्धुलीमा २४५, बारामा २३०, बाँकेको कुसुममा २०३ र काठमाडौंमा ९२ मिलिमिटर वर्षा भएको छ । यता बाढी र पानी निकास राम्रो नभएका ठाउँहरु जलमग्न भएका छन् ।
वर्षाले भक्तपुरका विभिन्न ठाउँ पनि डुबानमा परेका छन् । हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका हुन् । बाढीले भक्तपुरका वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् । बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ ।
यता ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले)पार्टी केन्द्रीय कार्यालयमा पनि बाढी पसेको छ । काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको छ । च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएर कम्पाउन्ड डुबेको छ ।
अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घरधुरी प्रभावित भएको हो । यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका क्षेत्र डुबानमा परेको छ । बबई नदीमा बाढीको जलस्तर बढेपछि बाढी गाउँका बस्तीमा पस्ने खतरा छ । यस्तै कञ्चनपुरमा एक सय १० वटा घरमा पानी पसेको छ । ठूलो वर्षाका कारण पहिरो खस्दा देशभर ठाउँठाउँमा सडक समेत अवरुद्ध भएको छ ।
देशभर बाढी पहिरोले जनधनको क्षति हुन थालेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायत कार्यमा चुस्तरुपमा लाग्न सर्कुलर पठाएको छ । भारी वर्षाका कारण नदी किनारका बस्तीमा बाढीले सर्वसाधारणलाई दुःख दिइरहेको छ । नेपालमा हरेक वर्ष बाढी÷पहिरोबाट व्यापक जनधन क्षति हुने गरेको छ । तराई क्षेत्रमा डुबानको समस्या उस्तै छ । पछिल्लो समय विभिन्न ठाँउमा डोजर लगाएर बाटो बनाउँदै दुर्गम क्षेत्रसम्म यातायात विकास गर्ने होडबाजी चलेको छ ।
अवश्य पनि विकास हुनु राम्रो हो तर व्यवस्थित गरिएन भने त्यसले विनाश निम्त्याउँछ भन्ने उदाहरण हाम्रा अगाडि अनगिन्ती छन् । त्यस्तै सहरी क्षेत्रमा बनाइएका कृत्रिम जल निकासीका बिन्दुहरू पर्याप्त छैन । कतिपय ढल पनि सही ढङ्गमा डिजाइन भएका छैनन् । पानीको निकास रोकिएका छन् । पानी बग्न चाहिने प्राकृतिक बाटो नै सानो छ । हरेक वर्ष खोलाले मान्छे बगाएको सुनिन्छ ।
मानवले ज्यान गुमाउनु जस्तो ठूलो क्षति अरू के होला ? तर पनि मानिस जोखिम मोलेरै बसिरहेका छन् । हरेक वर्ष डुबानका कारण हुने विनाश भोग्ने यस्ता विषयमा विमर्श गर्ने र प्रकोपले गर्ने क्षतिबारे बिर्सीदै जाने हो भने यस्ले अर्को बिगराल रुप नलेला भन्न सकिन्न । तसर्थ समयमै नागरिक सचेत रहेर आफ्नो ज्यान जोगाउने र सरकारले पनि पूर्वतयारीमा जोड दिनुपर्छ ।


प्रतिक्रिया