Breaking

राष्ट्रपति पौडेलको उपचार खर्चको बिवरण झिकाउन सर्वोच्चको आदेश


काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चको बिवरण झिकाउन आदेश दिएको छ । आज सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका विषयमा सचिवालयले जारी गरेको विज्ञप्ति र उपचार खर्च दिने सरकारको निर्णय झिकाउने आदेश दिएको छ । गत १४ साउनमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उपचार खर्च सम्बन्धमा राष्टपतिको स्वकीय सचिवालयबाट जारी प्रेस नोट, अर्थ मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले लेखेको पत्र र अर्थ मन्त्रालयले स्वास्थ्य उपचार लागतको खर्चका लागि दिएको सहमति माग गरेको हो । छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो ।

उपचार पूरा भएपछि उनी १७ वैशाखमा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि राष्ट्रपति पौडेलको प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति जारी गरी उपचार खर्च राष्ट्रपति पौडेल आफैंले तिर्न चाहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । तर, १२ असारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद निर्णयको आधारमा परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो र अर्थ मन्त्रालयले रकम निकासा गरेको थियो ।अधिवक्ता विष्णुकुमार गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ ।