Breaking

भीमदत्त राजमार्ग पहिरोले अवरूद्ध, यात्रु अलपत्र


काठमाडौँ – सोमबार रातिको अविरल वर्षाले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

कैलालीको गोदावरी नगरपािलका–४ बुढीतोलास्थित राजमार्ग पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको हो । भीमदत्त राजमार्ग अन्तर्गत खानीडाँडादेखि बुढीतोलासम्म करिब एक किलोमिटर सडकमा पहिरो खसेको यात्रु ललित जोशीले बताए ।

जोशीका अनुसार सडक ठाउँमा भाँसिनुका साथै रुख ढलेर राजमार्ग अवरूद्ध भएको छ । भीमदत्त राजमार्ग सुदूर पहाडका ७ जिल्लालाई जोड्ने मुख्य सडक हो ।

पहिरोले सडक अवरुद्ध भएपछि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटी जाने सयौँ गाडी बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा गएरातिदेखि नै हजारौँ यात्रुहरू अलपत्र छन् । प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार पहिरो पन्छाएर अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।