Breaking

सुनमा सेटिङ खोज्दै ओली–प्रचण्ड, सदन नचलेकोमा रविको आक्रोश, नेता वैठकमा, सांसद अलपत्र


काठमाडौँ — संसदको गतिरोध अन्त्य गर्न भन्दै सोमबार बसेको सत्तापक्ष र प्रतिपक्ष दलको दुई चरणको बैठक पनि अर्थहीन बन्यो । बैठक सञ्चालनको विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक भोली मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भयो भने राष्ट्रियसभा बैठक पर्सी बुधबारसम्मका लागि सारिएको छ । तस्करीको सुन प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध कायम गरेको छ भने समितिको आवश्यकता नरहेको सरकारको निष्कर्ष छ ।

एक क्वीन्टल सुन प्रकरणलाई सत्तारुढ र प्रतिपक्षी दलले प्रतिष्ठाको विषय बनाउँदा यसको प्रभाव संसदमा परिरहेको छ । संसद नै बन्धक बन्नेगरी दुबै पक्षले आफ्नो अडानबाट पछि नहट्दा जनताका आवाज बोल्ने ठाउँ पटक–पटक अवरोध हुँदै आएको हो । यो प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान एमालेको छ । जहिलेसम्म छानविन समिति बन्दैन, त्यो बेलासम्मका लागि संसद सुचारु हुन नसक्ने एमालेको अडान छ ।

सभामुख देवराज घिमिरेको पहलमा सोमबार बसेको शीर्ष नेताहरुको २ चरणको बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानविन समिति बनाउन किन डराएको ?समिति बनाउँदैमा त्यस्तो अत्तालिहाल्नुपर्ने परिस्थिति के छ ? भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए । यो प्रकरणमा आफ्नालाई जोगाएर अरुलाई फसाउने प्रयास भएकोले कुनै पनि हालतमा उच्चस्तरीय समिति चाहिने एमालेको रटान छ ।

सोमबार २ चरणमा शीर्ष नेताहरुसँग सभामुख घिमिरेले छलफल गर्दासमेत दुबै पक्ष टसमस भएनन् ।सभामुखको पहलमा बसेको बैठकमा अनुसन्धानको काम भईरहेको र अहिले भईरहेको अनुसन्धानमाथि विश्वास गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरे । तर, संसदको गतिरोध अन्त्य गर्ने प्रयास सोमबार दिनभर गर्दासमेत प्रधानमन्त्री प्रचण्डले एमालेलाई गलाउन सकेन । बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा भने प्रचण्ड र ओलीलाई जसरी हुन्छ मिल्न आग्रह गरिरहे ।

उनले दुबै जनालाई भने, – ‘जसरी हुन्छ, संसद अवरोध हट्नुपर्यो, तपाईहरु छिटो मिल्नुस् ।’ संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति देउवाले ‘तपाईहरु छिटो मिल्नुस्’ भन्ने शब्द बोलेर मुखदर्शक बनिरहँदा उनी पनि मिलाउने सुत्राधार बन्न भने सकेनन् । दुबै पक्षलाई मिलाएर संसद खुलाउनेबारे उनी स्वयं पनि गम्भीर नदेखिँदा यसमा केही न केही रहस्य छ भन्ने प्रष्ट छ । मेरै गोरुको बाह् टक्का भएझैँ दुबै पक्षले बालहठ नत्यागेपछि सोमबारका लागि तय भएको प्रतिनिधिसभा बैठक बस्नै सकेन भने राष्ट्रियसभा बैठक पनि पर्सी बुधबारसम्मका लागि स्थगित भयो ।

एमालेको रटानलाई जसरी हुन्छ तल पार्ने र झुकाएरै छाड्ने अडान प्रधानमन्त्री प्रचण्डको छ । सुन तस्करी प्रकरणलाई लिएर एमालेले गत साउन १० गते प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियो । एमालले अवरोध कायमै राख्ने भएपछि गत साउन १६ गते बोलाइएको बैठकपनि सहमति नजुटेपछि सूचना टाँस गरेर स्थगित भएको थियो ।संसदीय समितिको नेतृत्वको भागबण्डामा नपरेका संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने हरेक काण्ड बार्गेनिङ गर्ने थलोको रुपमा संसदलाई प्रयोग गर्दै आएकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनीहरु भन्छन्, सदन चल्दैन, बार्गेनिङ चल्छ ।संसदीय समिति सभापति विहीन भएको अवस्था र संसदमा प्रतिपक्षी दलको अवरोध रहने अवस्था अन्त्य गर्न सभामुख घिमिरेको पहलमा सोमबार दुईपक्षबीच छलफल भएको हो । तर सत्तापक्ष र प्रतिपक्षीले आफ्नो अडान कायम राखेपछि प्रतिनिधि सभाको बैठक पनि मंगलबारका लागि सारियो । संसदको अवरोध खुलाउनुपर्छ भन्ने दुबै पक्षलाई लागेको भएपनि दुबै पक्षको अडान यथावत रहँदा सोमबारको दुईवटै सदन अवरुद्ध हुन पुगेको हो ।

यसअघि पनि एमालेले संसदलाई पटक–पटक बन्धक बनाउँदै नआएको भने होइन । प्रधानमन्त्री र गृहमन्त्रीको अभिव्ययक्तिलाई लिएर होस् या आफूलाई चित्त नबुझेका अनेक सवालमा एमालेको मुख्य तगारो संसद बैठक हुँदै आएको छ । संसद खुलाउने नाममा सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरी छानबिन समिति बनाउँदा अहिलेसम्मको अनुसन्धान अर्थहीन हुने र अनुसन्धान नै मोडिनेसरकारलाई लागेको छ ।

तर एमाले त्यसलाई मान्न तयार नहुँदा जनताको सवाल उठाउने स्थल बन्धक बनिरहेको हो । अहिले जति पनि प्रकरणहरु छन्, त्यसको निष्पक्ष छानविनको बाटो पहिल्याउँदै संसदको गतिरोध खुलाउन दलहरु गम्भीर हुने कि ?