देश

बाबुआमाले तानातान गर्ने क्रममा बालकको ज्यान गयो


काठमाडौँ — बागलुङको निसीखोला गाउँपालिका–४ मा बाबुआमाले खोसाखोस गर्दा दुई महिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार जिल्लाको निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बिरु बिक र उनकी श्रीमती ३० वर्षीय सबिनाले तानातान गर्ने क्रममा बालकको ज्यान गएको हो । गत साउन १८ गते बेलुकी घरमै उनीहरूबीच विवाद भएको थियो ।

विवाद बढेसँगै उनीहरूले तानातान गर्ने क्रममा बालक भुईँमा बजारिएका थिए । बालकको घटनास्थलमा नै उनको मृत्यु भयो । बागलुङ प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा पनि खोसाखोसका क्रममा भुईँमा बजारिँदा बालकको मृत्यु भएको निष्कर्ष निकालेको छ । प्रहरी नायब उपरीक्षक केसीका अनुसार उनीहरूलाई कानुन बमोजिम साउन १९ गते नियन्त्रणमा लिई आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।