Breaking

सदनको अवरोधः शीर्ष नेताहरुको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगियो


काठमाडौँ — संसदको गतिरोध अन्त्यको लागि सोमबार बसेको शीर्ष नेताहरुको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । सोमबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा सरकार पक्ष र प्रतिपक्षी दल दुवै आफ्नो भनाइबाट टसमस नभएपछि दोश्रो पटक बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको हो । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

संसदको अवरोध हटाउन भएको छलफलमा सहमति हुन नसकेपछि सोमबारको लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित भएको छ । एमालेले गत साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको एक क्विन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ भने सरकारले अनुसन्धान जारी रहेकोले त्यसमा विश्वास गर्न प्रतिपक्षी दललाई आग्रह गरेको छ । एमालेका सचेतक महेश बर्तौला सरकार आफूहरुको माग पूरा गर्न सहमत नभएसम्म सदन चल्न नदिने बताउँछन् ।