खेलकुद

भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाकिस्तानी टोलीलाई भारत जाने अनुमति


काठमाडौँ — पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो । पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिक मुद्दा बनाउन नचाहेको स्पष्ट पार्दै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । यस विषयमा पाकिस्तानले आइसिसीलाई पनि जानकारी गराएको छ । यसका साथै भारतीय सम्बन्धित निकायसँग पनि कुरा गरेको बताइएको छ ।

विश्वकप यही अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुँदैछ । लामो समयदेखि पाकिस्तानले भारतमा हुने विश्वकप खेल्ने वा नखेल्नेबारे आशंका उत्पन्न भएको थियो । गत महिना पाकिस्तानले आयोजना गर्ने एसीसी एसिया कपलाई लिएर दुई देशबीचको विवाद उत्कर्षमा पुगेको थियो । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ मा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।