खेलकुद

साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा


काठमाडौँ — साविक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । स्विडेनले आइतबार खेलिएको रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा बलियो अमेरिकालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हरायो । महत्वपूणर् जितसँगै स्विडेन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

अमेरिका सर्वाधिक चार पटकको उपाधि विजेता राष्ट्र हो । अमेरिकाले महिला विश्वकपमा पहिलो, तेस्रो, सातौं र आठौं संस्करणको उपाधि जितेको थियो । महिला विश्वकपमा अमेरिकाको यो सबैभन्दा खराब प्रदर्शन हो । स्विडेन र अमेरिकाबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको प्रारम्भदेखि नै स्विडेनले अमेरिकालाई कडा चुनौती दिएको थियो ।

त्यसपछि खेल थप समयतर्फ धकेलिएको थियो । थप गरिएको समयमा पनि दुबैतर्फबाट गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक थियो । अन्ततः पेनाल्टी सुटआउटमा स्विडेनले बाजी मार्‍यो । जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने स्विडेन चौथो राष्ट्र हो । जापान, स्पेन र नेदरल्यान्ड्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २-० र जापानले नर्वेलाई ३-१ गोलले हराएका हुन् । नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २-० गोलले हराएको हो । प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले भने क्वार्टरफाइनलमा स्विडेनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।