Breaking

संसदको अवरोध हटाउन सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै


काठमाडौँ — संसदको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो ।

सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । संसदको अवरोध हटाउने र संसदीय समितिका सभापति चयन नै मुख्य विषय हो, सभामुखले प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन भन्नुभएको थियो,’ अधिकारीले भने ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गर्‍यो । त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो । सदनको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई-दुईपटक टेलिफोनमा कुराकानी गरेको पनि अधिकारीले जानकारी दिए ।