Breaking

एमाले बाहिर सुन देखाएर भित्र टीआरसी विधेयक रोक्न खोज्दैछ : प्रचण्ड


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्‍मा दोहोरो भूमिका खेलिरहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा ब्रिफिङका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् ।

एकजना सांसदका अनुसार दाहालले एमालेले संसद्‍मा दोहोरो चरित्र देखाएकाले माओवादीका सांसदहरुको भूमिका सशक्त हुनुपर्ने पनि बताएका छन् । ‘एमालेले सदन चल्न दिएको छैन’, उनले भने, ‘तर उसले जनतालाई देखाउन बाहिर सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति भनिरहेको छ। तर खासमा भित्रचाहिँ एमाले संक्रमणकालीन न्याय (टीआरसी) को विधेयक रोक्ने योजनामा छ ।’

दाहालले सहमति भएमा सोमबार नै संसद्‍ सुचारु हुने बताएका छन्। तर यदि सभामुखको कार्यकक्षमा हुने बैठकमा सहमति हुन नसकेमा संसद् अझै दुई चार दिन चल्न नसक्ने पनि ब्रिफिङ दाहालले गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत चैत ५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्‍मा पेश गरेकी थिइन् । सरकारले दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न यो विधेयक ल्याएको थियो । द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लंघनका घटना भएको र व्यक्ति बेपत्ता भएका हुनाले छानबिन गर्न जरुरी रहेकाले उक्त विधेयक ल्याएको सरकारको भनाइ थियो ।