Breaking

रुस-युक्रेन युद्धमा नेपालले कसैको पक्ष लिन हुँदैनः ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुस-युक्रेन युद्धमा नेपालले कसैको पक्ष लिन नहुने बताएका छन् । शनिबार नेकपा एमालेको विदेश विभागले आयोजना गरेको कार्यक्रममा उनले नेपाल सरकारले विगतमा युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेकामा आलोचना गरे ।

‘भारतलाई त्यो न्यूट्रालिटी कायम राख्नुपर्ने तर हामीले साँढे जुधेका ठाउँमा बाच्छो बनेर जान हुँदैन थियो । न्यूट्रालिटी हाम्रो शक्ति हो । हामी शान्तिका पक्षधर हो’ उनले भने, ‘युद्ध नहोस् भन्ने कुरा भयो भने वार्ताबाट समाधान होस् भन्ने हुनुपर्छ। हामी एउटा पक्षमा लागेर, न्यूट्रालिटी गुमाएर कुराको छेस्कोले केही गर्न सक्दैनौँ ।’

अध्यक्ष ओलीले परराष्ट्र मामिलामा कम्तीमा देशभित्रका शक्ति एकजुट हुनुपर्ने बताए । तर प्रधानमन्त्री र सरकारले बाह्य देशसँग के सहमति गर्छन् भन्ने नै थाहा हुन छाडेको उनले टिप्पणी गरे ।

‘अस्ति प्रमको भारत भ्रमणमा ईपीजीबारे कुरा नै उठाएनन् । नेपाली भूमिलाई विवादित बनाउन खोजिएको छ । कुरा नै उठाइएन । सत्ता स्वार्थ केन्द्रित भयो राष्ट्रिय हित केन्द्रित भएन । यसमा राष्ट्रिय सहमति हुनुपर्थ्यो । तर त्यो राष्ट्रिय हितमा हुनुपर्छ । अन्यथा नेकपा एमालेलाई मान्य हुँदैन’ उनले भने ।