Breaking

माओवादीको केन्द्रीय समिति बैठक आज पनि


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शनिबार पनि बस्दैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।

चौथो दिनको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। मंसिरमा तय भएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीलगायतका विषयमा छलफल भइरहेको छ ।

बुधबार शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्। शुक्रबारसम्ममा १४२ सदस्यले धारणा राखिसकेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए

हरेक सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ। माओवादीमा २२ जना महिला सदस्य केन्द्रीय कमिटीको आकार ४०७ सदस्यीय पुगेको छ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५० भन्दा बढी सहभागी छन्।

केन्द्रीय सदस्यले उठाएका विषयमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि आइतबार बैठक सक्ने तयारी रहेको सचिव पौडेलले बताए।