Breaking

अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको चाप, आँखा पाके के गर्ने ? यस्तो छ चिकित्सकको सुझाव


काठमाडौँ — पछिल्लो समय काठमाडौं उपत्यकासहित देशैभर आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । केही दिनयता देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चापबढ्दो छ ।धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल पुग्ने गरेका छन् । भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग केही दिनयता नेपालमा पनि फैलिएको छ ।

आँखा पाक्ने रोगको संक्रमण बढेसँगै देशभरका अस्पतालमा बिरामीको चाप समेत बढ्न थालेको छ । काठमाडौंस्थित तीलगंगा आँखा अस्पतालमा मात्रै दैनिक एक सयको हाराहारीमा यो रोगका विरामी अस्पताल पुग्ने गरेका छन् । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीका अनुसार भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको हो । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल पुग्ने गरेका छन् ।

विभिन्न संक्रमणका कारण इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्य बताउँछिन् । आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने गरेको डाक्टरहरु बताउँछन् । चिकित्सकका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महशुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने हुन्छ । एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने यो रोग फैलिने गर्दछ ।

आँखा रोग विशेषज्ञहरुले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याँई नगर्न आग्रह गरेका छन् । आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने चिकित्सको सुझाव रहेको छ ।