Breaking

ओलीकै बोली बोल्दै शेखर, देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको विरोध


काठमाडौँ — आफूलाई कांग्रेसको नयाँ नेतृत्वको रुपमा हेरिरहेका डा.शेखर कोइराला सरकार ढलाउने कोशिसमा रहेको देखिन्छ । गठबन्धन सरकारमा रहे पनि प्रतिपक्षीको बोली बोल्दै आएका कोइराला कोशीमा एमालेसँग मिलनको सुरु गर्दै त्यसैलाई केन्द्रमा पनि निरन्तरता दिन रणनीति बनाईरहेको बुझिन्छ । नेपाली कांग्रेसमा ‘मेसेन्जर पोलिटिसियन’बाट राजनीतिक यात्रा थालेका डा.शेखर कोइरालाको रणनीतिले अहिले जो कोही आश्चर्यमा पर्न थालेका छन् ।

२०४७ साल पछिमात्रै राजनीतिमा सक्रिय डा.कोइराला सत्तापक्ष वा प्रतिपक्ष दुवै दलका नेतालाई रिझाउन लागेका छन् । १४ औं महाधिवेशनमा सभापति शेरबहदुर देउवाविरुद्ध उभिएका डा.कोइराला पार्टीको केन्द्रीय समिति बैठकमा पक्षमा देखिए भने राष्ट्रिय राजनीतिमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेतिर नै खुलेर लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सुन तस्करीबारे कांग्रेसका एक दुई नेताले व्यक्तिगत रुपमा बोल्ने गरेको भन्दै शेखरतिर इंगित गर्ने गरेका छन् । तर, प्रचण्डलाई बोकेको देउवाले यसबारे चुइक्क नगरेकोमा अचम्म लागेको बताएका छन् ।

सुन काण्डामा ओली देउवाको धारणा खोजिरहेका छन् तर, उत्तर भने ओलीलाई नै समर्थन हुने गरि शेखरले दिने गरेका छन् । ओलीको निशानामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिरहँदा शेखरको निशाना पनि प्रचण्डमाथि नै भएको छ । देउवाले प्रचण्ड बोकिरहँदा शेखर भने प्रचण्डको विरोध गर्दै ओली जस्तै माओवादीलाई चिढ्याउने काममा व्यस्त छन् । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिमा पनि ओलीकै बोली बोल्दै आएका डा.कोइरालाले सुन तस्करी प्रकरणमा पनि ओलीलाई नै बल पुग्ने गरि प्रधानमन्त्रीकै संलग्नता हुन सक्ने प्रतिक्रिया दिने गरेका छन् ।

डा.शेखरको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने गठबन्धन फुटाउन उद्दत देखिन्छ । कोशी प्रदेशमा ओलीसँग मिलेर आफ्नै सरकारलाई स्थायित्व दिन उनी चाहन्छन् । कोशीबाट सत्ता मिलनको यात्रा सुरु गरेर केन्द्रमा पनि त्यसैलाई लागु गर्ने मनस्थितिमा शेखर छन् । देउवाको पक्षमा उभिए झै गरि प्रचण्डको विरोध र एमालेसँगको निकटताले पनि शेखर पार्टीमा आफ्नो प्रभुत्वसँगै केन्द्रमा देउवाको सरकार र पार्टीमा प्रभुत्व जमाउन खोजेको आशंका गर्न थालिएको छ । यद्यपि, शेखर त्यसमा सफल हुन नसक्ने कतिको बुझाई छ ।

ओलीले गणेशमानलाई कांग्रेसी नै होइनन् भन्दा पनि त्यसविरुद्ध शेखर एक शब्द बोल्न चाहँदैनन् । बरु, ओलीकै बोलीमा होमा हो मिलाउँदै आफ्नै गठबन्धनको सरकारमाथि आगो ओकलिरहेका छन् । ओली र शेखरको मिल्ने बोलीले देउवालाई प्रधानमन्त्री बनाउकै लागि प्रचण्डको आलोचना गरिरहेका त होइनन् भन्ने आशंका गर्ने ठाउँ पनि प्रसस्त्रै छन् ।