देश

२९औ विश्व आदिवासी दिवस साताव्यापी कार्यक्रम गरी मनाईदै



काठमाडौँ — २९ औं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना सहित दिवस मनाउने तयारी गरेको जनाएको छ ।

महासंघले साउन २४ गते बुधबारका दिन कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभा हलमा मूल समारोहको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । मूल समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा पहिचानको आवाज उठाउने नेपाल सरकारका मन्त्रीहरूको समेत उपस्थिति रहने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिहरूको प्रथाजनित मान्यताहरूमाथि विभिन्न व्यक्तिहरूले लोकप्रियताको नाममा सामाजिक सञ्जाल तथा मिडियामा आदिवासी जनजातिको मान्यता र विश्वासमाथि ठेस पुग्ने काम गरेको भन्दै खेद व्यक्त गरे ।

भगवती पाण्डे नामक एक अधिवक्ता महिलाले तामाङ र मगर समुदायलाई लक्षित गरेर दिएको अभिव्यक्तिलाई लक्षित गर्दै शेर्पाले मगर र तामाङलाई मात्र नभएर समग्र आदिवासीप्रतिको गलत व्यवहार भएको टिप्पणी गरे
राज्यले पनि उनलाई पक्राउ गरेर दण्ड नदिई छाडेको भन्दै अध्यक्ष शेर्पाले यस्ता कुराले डन्डहीनता बढाउने समेत बताए । उनले उक्त आन्दोलनका क्रममा राज्यले आन्दोलनकारी माथि गरेको ज्यादती र दमनको जति निन्दा गरेपनि कम हुने बताए ।

मूल समारोहमा नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषा सहित साउन २४ गते बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म सांस्कृतिक झाँकी सहितको र्‍याली हुने महासंघले जनाएको छ । भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभा हलमा प्रवेश गरी र्‍याली मूल समारोहमा परिणत हुनेछ ।

यो वर्षको विश्व आदिवासी दिवस भव्य तथा शक्ति प्रदर्शनको हिसाबले मनाइने महासंघले राईले जानकारी दिए ।मूल समारोहमा विभिन्न जातीय संस्थाहरूबाट आ(आफ्नो मौलिक सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिने बताइएको छ । त्यस अवसरमा आदिवासी जनजाति आन्दोलनमा योगदान दिने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिने बताइएको छ ।

मूल समारोहका सन्दर्भमा प्रज्ञा भवनको पछाडितिर रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनहरूको प्रदर्शनी फुड फेस्टीवल तथा विक्री वितरण स्टलहरू समेत राखिने बताइएको छ । साथै दिवसको सन्दर्भमा महासंघसँग आबद्ध विभिन्न जातीय संस्थाहरू तथा सम्बद्ध संगठनहरूद्वारा विविध कार्यक्रम गरिने छ ।