काठमाडौँ — २०७९ को निर्वाचनपछि सदनको तेस्रो शक्तिमा खुम्चिए पनि काँग्रेस–एमालेलाई पछि पार्दै सत्ताको तालाचावी माओवादी केन्द्रसँग छ । दश वर्षे जनयुद्ध गर्दै राजनीतिक व्यवस्था परिवर्तन गरेको माओवादी अहिले जनताको अवस्था परिवर्तन गर्ने थलोमा छ । संधै सत्ता वरिपरि हुँदा पनि नेतृत्वको नजर जनताको अवस्था परिवर्तनमा नभई सत्ता र शक्ति केन्द्रित हुँदा माओवादी पार्टीपंक्ति नै नेतृत्वसँग तिव्र असन्तुष्ट छन ।
नवलपुरका ६२ वर्षिय किसन शर्मा राजनीतिक व्यवस्था परिवर्तन सहित नागरिकको अवस्था परिवर्तन गर्नकै लागि जनयुद्धमा होमिए । शिक्षण पेसा छोडेर माओवादी जनयुद्धमा होमिएका उनी जनताको अवस्था परिवर्तनको वकालतमा लागेको साढे ३ दशक वित्यो । तर जुन मुद्धा बोकेर जनुयद्ध लडियो त्यो अझै अपुरो नै रहेको उनी सुनाउँछन । राजनीतिक परिवर्तनको क्रान्ति सफल भएपनि नेतृत्व नसुध्रिँदा जनताको आर्थिक र सामाजिक अवस्था परिवर्तन अधुरै रहेको उनको बुझाई छ । पार्टी रुपान्तरण पहिलो सर्त भएको उनी बताउँछन ।
सत्तामा रहेर पनि आफ्नो साख जोगाउन नसकेको माओवादी केन्द्र संगठनात्मक रुपमा क्षयिकरण उन्मुख छ । आफ्नै हातमा पार्टीको डाडु पन्यू छ तर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्ड आफै पार्टी, पार्टी जस्तो नभएको गुनासो गर्छन । पार्टीका नेता कार्यकर्ताहरु पनि पार्टी खस्किँदै गएकाप्रति चिन्तित छन । नेता कार्यकर्ता माओवादीको यो हालत हुनुमा नेतृत्व नै दोषि देख्छन । पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै किसान र मजदुरको पार्टी बनाउनुपर्ने नेताहरुको जोड छ । पार्टी अध्यक्षले पार्टीलाई रुपान्तरण गर्दै अगाडी बढाउनेमा नेताहरु आशावादी छन् ।
माओवादी नेतृत्व अझ प्रचण्ड निरन्तर स्वयंको परिवार मोहले संधै घेराबन्दीमा छन । आफ्ना र आफन्तलाई कहिल्यै अवसरबाट टाढा राख्न नचाहने प्रचण्डको स्वभावले नेता कार्यकर्ता रुष्ट छ । त्यसको प्रत्यक्ष असर पार्टी र संगठनलाई मात्र परेको छैन जनतामा माओवादीप्रतिको मोह छैन । यसतर्फ पार्टीपंक्ति विशेषगरी अध्यक्ष प्रचण्ड गम्भिर हुन जरुरी छ ।


प्रतिक्रिया