Breaking

प्रचण्डले टीका लगाएकाहरुबाट पार्टी चल्दैन, सुशासनकै बलमा बिरासत फर्काउने नेतृत्वको दाउ


काठमाडौँ — काठमाडौंमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा नेताहरुले नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले नेतृत्वकै कारण पार्टी सुदृढिकरण हुन नसकेकोले नेतृत्व सच्चिनुको विकल्प नरहेको बताएका छन् । बिहीबार बोल्ने अधिकांस नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेर आलोचना गरेका थिए ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो नभएको भनेर गुनासो गरे । बैठकको पहिलो दिन यो अभिव्यक्तिम नेताहरुले खासै प्रतिक्रिया नजनाएपनि दोस्रो दिन बिहीबार भने नेताहरुको तिब्र असन्तुष्टि देखियो । बैठकमा गृहमन्त्रीसमेत रहेको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रूपान्तरणको आवश्यकता औँल्याए ।

स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको पनि उनले भने । वैठकमा नेताहरुले पेरिसडाँडा सम्पर्क कार्यलयजस्तो र बालुवाटार–खुमलटार केन्द्रीय कार्यलयजस्तो भएको भन्दै नेतृत्वको चर्को आलोचना गरे । केन्द्रिय सदस्य रामनारायण बिडारीले पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताए ।

माओवादी केन्द्र विधानसम्मत रुपले नचलेको भन्दै केन्द्रिय सदस्यहरु बैठकमै आक्रोश पोख्न उद्धत देखिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने सुझाव दिए । केन्द्रिय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको भन्दै सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको आरोप लगाईन् ।

केन्द्रिय सदस्य रामप्रसाद सापकोटा दिपशिखा पनि पार्टी निरन्तर ओरालो लागेकोमा नेतृत्वप्रति आक्रोश पोख्लै ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताए । केन्द्रिय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । केन्द्रिय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताईन् ।

बिहीबारको वैठकमा नेताहरुले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्नुपर्ने सुझाव व्यक्त गरे । बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जानेगरी आधार तयार गर्ने नेताहरुको भनाई छ । यस्तै नेताहरुले पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने र निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने माग गरेका छन् । सत्ताको बागडोर सम्हालिरहेको माओवादी केन्द्रको केन्द्रीय कमिटी वैठक केहीदिन अझै लम्बिने सम्भावना छ ।