Breaking

रवि चितवनमा मतदातासँग मस्त, सांसद भएको सय दिनमा थरीथरीका योजना, कहाँबाट जुटाउँछन् पैसा ?


काठमाडौँ — पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपचुनाव जितेको ठ्याक्कै १ सय दिन भयो । चुनाव जितेको सय दिनको अवसरमा उनले आफ्नो उपलब्धिको फेरिस्ता सार्वजनिक गरेका छन । दोस्रो पटक चुनाव जितेका लामिछानेले आफ्नो दलबलसहित निर्वाचन क्षेत्र चितवनमै पुगेर आफ्नो सय दिनको काम र आगामी योजना सुनाएका हुन् । चितवन क्षेत्र नं. २ का जनताको जनमतले दोस्रो पटक सदन छिरेका सांसद एवंम राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद रवि लामिछानेले आफ्नो सय दिनको कार्यप्रगति र आगामी योजना सार्वजनिक गरेका छन ।

दलबलसहित आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका लामिछानेले सांसद निर्वाचित भएको सय दिन पुगेको अवसरमा चितवनमा घण्टी बजाएर आफ्नो सचिवालयको सुरुवात गरेका हुन् । उनले बेलायतबाट उच्च शिक्षा हाँसिल गरेर फर्किएका सूचना प्रविधि तथा डाटा सेन्टर कन्सल्टेन्ट तथा लेखक हेमन्त बराललाई सिइओ बनाएका छन ।

चुनाव जितेको १ सय दिनकै अवसरमा महिलाहरुका लागि ब्लु बस सेवा संचालनमा ल्याईएको छ । यो सेवा नि.शुल्क हो । चितवन २ का विभिन्न रुटमा चल्ने बस सेवामा पहिलो चरणमा ५ सय महिलालाई नि.शुल्क यातायात कार्ड वितरण गरिएको छ । बसमा आवश्यक पर्ने स्यानेटरी प्याड पनि रहनेछ ।

६५ वर्ष भन्दा माथिका नागरिकलाई नि.शुल्क स्वास्थ्य सेवा अर्थात मोवाइल क्लिनिकको सुरुवात गरेका छन । मोवाइल क्लिनिक मार्फत हरेक दिन नयाँ नयाँ टोलमा पुगेर प्राथमिक उपचार दिइने जनाईएको छ । आफ्नो निर्वाचन क्षेत्रका विद्यालयलाई प्रविधिमैत्री नमुना विद्यालय बनाउने योजना सञ्चालन गर्ने भएको छ । आवासीय नमुना स्कुल अन्तर्गत विद्यालयको स्तरोन्नति र नमुना बनाउने कार्य सुरु गरेका छन । त्यस्तै विदेशमा रहेका नेपालीलाई स्वेदशमै कामको अवसर दिलाउने गरी अहिले एक सय जनालाई रोजगारीका लागि विज्ञापन खोलेका छन ।

चार–चार महिनामा सार्वजनिक सुनुवाई योजना सहित पहिलो सार्वजनिक सुनुवाई भदौ १० गते गर्ने योजना सार्वजनिक गरेका छन । स्वस्थ चितवन नारासहित विपन्न परिवारका लागि ५ लाखसम्मको स्वस्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको छ । सय जना विपन्न परिवार छनोट गरी यो पोलिसी वितरण गरिसकेको जनाइएको छ । गुनासो व्यवस्थापन गर्न हेलो रविको सुरुवात गरेका उनले प्राकृतिक विपत्तिमा सघाउन २० जना सदस्य रहेको ¥यापिड एक्सन टिम ¥याट तयार गरेका छन ।
लामिछानेले उपनिर्वाचनमा प्राप्त मत बराबरको संख्यामा वृक्षारोपण गर्ने कार्यको सुरुवात गरेका छन ।

उप निर्वाचनमा ५४ हजार १ सय ७६ मत ल्याएका उनले एक मतदाता बराबर कम्तीमा एक बिरूवा रोप्ने कार्यको थालनी गरेका छन । त्यस्तै आफ्ना योजनाहरु सफल पार्न विदेशमा रहेका नेपालीहरूसँग हातेमालो गर्नेका लागि विभिन्न देशमा ‘चितवन क्लब’ बनाएर सहयोग संकलन गर्ने लक्ष्य रहेको बताएका छन । जनप्रतिनिधिले जनहितका लागि अघि सारेका योजनाहरु तर्जुमा गर्नु उसको दायित्व हो । लामिछानेले अघि सारेका लोभलाग्दा योजनाको कार्यन्वयन र प्रभावकारिता विस्तारै लेखाजोखा हुँदै जाला ।

चुनावमा पुराना र ठुला दललाई मात खुवाएका रवि र रास्वपाले नयाँ पार्टी नयाँ नेता भएर पनि हाईफाई युक्त पार्टीको नीजि भवन निर्माणको रफ्तारले पनि पुरानालाई जिल्ल पारे । निरन्तर राजनीति गर्दै आएका पटक पटक सांसद भई सकेका चित्र बहादुर के.सी जस्ता सांसदहरु पिएसो राख्ने धेरै परको कुरा घरभाडा तिर्न मुस्किल भएको तर्क गर्छन, सार्वजनिक यातायातमा हिँड्छन । रास्वपाका सांसद, उपसभामुखले समेत तलब सुविधा कम भएको टिप्पणी नगरेका होइनन । तर सञ्चारकर्म छोडेर एकाएक राजनीतिमा उदाएका, नयाँ पार्टीको व्यवस्थापन चुनौतिमै रहेका उनले कसरी यो उचाई कसरी व्यवस्थापन गर्छन प्रश्न उब्जाएको छ ।