Breaking

५७ करार कर्मचारीलाई प्रोत्साहन रकमसहित बिदाइ गर्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका


काठमाडौँ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ कर्मचारीको करार अवधि थप नगर्ने भएको छ ।

गाउँपालिकाको सोमवार हिजो बसेको २५औँ कार्यपालिका बैठकले पुनर्ताजगीका लागि भन्दै करारका जम्मा ६५ कर्मचारीमध्ये ५७ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको हो ।

करारमा काम गरिरहेका तीन जना छैटौँ अधिकृत, चार जना पाँचौँ तह, कृषितर्फका ११, जनस्वास्थ्यका १८, भेटेरिनरीका पाँच र अन्य करारका कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

कतिपय जनप्रतिनिधिले निर्वाचित भए लगत्तै करारका कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारी नियुक्त गरेको अवस्थामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने ५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रोत्साहन स्वरुप जनही पाँच लाख रुपैयाँ उपदान र अन्य करारका कर्मचारीलाई एक महिना १५ दिनको तलब बराबरको सुविधा दिएर स-सम्मान बिदा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले पाँच जना गाउँ प्रहरी, एक जना एम्बुलेन्स चालक, एक जना गाउँपालिका अध्यक्षको गाडी चालक र व्याकहोलोडरको अपरेटरको मात्र करार अवधि नवीकरण गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले रिक्त ठाउँमा करारका नयाँ कर्मचारी भर्ना गर्नका लागि विज्ञापन खुलाउने निर्णय गरेको छ ।

परीक्षाका माध्यमबाट पुरानै कर्मचारी पनि पुन: सेवामा फर्कन सक्ने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो