Breaking

कोशी प्रदेश नयाँ सरकार गठनको समय आज सकिँदै


काठमाडौँ – कोशीमा नयाँ सरकार गठनका प्रदेश प्रमुखले दिएको समय मंगलबार अपराह्न ५ बजे सकिँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई गत शुक्रबार दिएको पाँच दिनको समयसीमा आज सकिन लागिएको हो ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन् ।

यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न गत बिहीबार आदेश दिएको थियो ।

सत्तारुढ गठबन्धनले बहुमत पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ४७ मत जुटाएर मुख्यमन्त्रीका लागी दाबी गर्ने तयारी गरेका हुन् ।

शनिबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा दलहरू सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउन सहमत भएका थिए। कोशीमा सत्तारुढ गठबन्धनमा कांग्रेसका २९, मा‍ओवादी केन्द्र (सभामुखसहित) का १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् ।

प्रमुख प्रतिपक्षीतर्फको नेतृत्वमा भने एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् ।