Breaking

एमालेमै फर्किए डिल्ली उप्रेती


काठमाडौँ – सर्लाही घर भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले जानकारी दिए । एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुगेका थिए । त्यस क्रममा उप्रेतीले ओलीसँग १० मिनेट छुट्टै वार्तासमेत गरेको वाग्लेले जानकारी दिए ।

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, एमाले सांसद हरि उप्रेती, ज्वाला साहलगायत नेताले सर्लाहीमा मेहनत गरिरहेका थिए ।

तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेती ०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछि ओलीसँग रूष्ट थिए । सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उनलाई उम्मेदवार बनाएको थियो ।

त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । ४ मंसिर ०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाएका उप्रेतीले चुनाव हारे ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएका थिए । माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेका जवाहरलाल कुशवाहासँग हारेपछि उनी एमालेसँग नजिकिन थालेका थिए ।

अध्यक्ष ओलीसँगको एक्लाएक्लै कुराकानीमा एमालेमा फर्किंदा आफ्नो ‘पोजिसन’ के हुने भन्ने विषयमा पनि कुराकानी भएको उप्रेतीले बताए ।