Breaking

सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठायोः योगेश भट्टराई


काठमाडौँ — नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । आईतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा प्रयोग भएको खबर बाहिरिएको बताए । उनले सरकार जवाफदेही बन्ने भन्दापनि वादप्रतिवादमा उत्रिने काम गरेको बताए । उनले भने, ‘पछिल्लो सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको छ ।

तथ्य प्रमाण छैन तर सुनिरहेको छु, यो कुनै लिगल कुनै मान्छेले पैसा कमाएर सुन किनेर ल्याएर फेरि पैसा कमाउन खोजेको होइन । यदी उसले व्यवसाय गर्दथ्यो भने एक अर्ब रुपैयाँ लगानी घरजग्गामा नै गरेको भए राम्रो कमाइ हुन्छ । तर सुनिँदै छ, यो कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा यसमा प्रयोग भएको छ ।

हतियारसँग सम्बन्धित प्रसा यसमा प्रयोग भएको छ । लागुऔषधको कारोबार गर्नेको पैसा संलग्न भएको छ, त्यसकारण यो सामान्य घटना होइन । उनले सुन तस्करीमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा (माओवादी केन्द्र) का उच्च तहका नेताहरु संलग्न रहेको कुरा बाहिरिएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिनको आयोग बनाउनुपर्ने बताए ।