Breaking

प्रचण्डलाई पार्टी धान्न सकस, जनार्दन-वर्षमान बन्दै चुनौती, फुट टार्न माधवसँग एकता (भिडियोसहित)


काठमाडौँ – शान्ति प्रक्रियामा आएसँगै निर्वाचनबाट देशकै ठूलो दल बनेको माओवादी पछिल्लो समय निरन्तर खस्किदो अवस्थामा छ । जसरी पनि सत्तामा रहने नेतृत्वको सोचले माओवादीको संगठन अस्तव्यस्त बनेको छ ।

२७५ सदस्यीय संसदमा ३२ सिट मात्रै भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि कहिले कांग्रेस त कहिले एमालेसँगको सहकार्यमा अधिकांश समय सत्तामा छ । तर, पार्टी संगठन भने निरन्तर कमजोर हुँदै गइरहेको छ । सत्ता केन्द्रित हुँदा सांगठनिक अवस्था अस्तव्यस्त बनेको माओवादीकै नेताहरू स्वीकार्छन ।

प्रचण्डले सरकार हाँक्दै गर्दा पार्टीका गतिविधि भने प्रायः शून्य अवस्थामा छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ७ जना माओवादी नेता अहिले सरकारमा छन् । पार्टीका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नै सरकारमा गएपछि पार्टी गतिविधिमा समेत असर परेको छ । तर, माओवादी नेताहरू केन्द्रीय समिति बैठकबाट पार्टीले पुनर्जीवन पाउने दाबी गर्छन । माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि काठमाडौँमा बस्दै छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार पार्न माओवादी नेताहरू व्यस्त छन् ।

पार्टी बालुवाटार र सिंहदरबार केन्द्रित भएकै कारणले संगठन भद्रगोल भएको माओवादी कार्यकर्ताको गुनासो छ । माओवादीभित्र गुटगत गतिविधि पनि बढ्न थालेको छ । नेताहरू वर्षमान पुन र जनार्दन शर्माको टकराबका कारण देव गुरुङलाई महासचिव पद चिठ्ठा परेको थियो । नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाएरै भएपनि पार्टी एकता गर्ने सोचमा प्रचण्ड छन् । तर, वर्षमान र जनर्दनलाई प्रचण्डको उक्त योजना मन परेको छैन । अखिल क्रान्तिकारीको कार्यक्रममा उपमहासचिवत्रय वर्षमान, जनार्दन र शक्ति बस्नेतले एक ठाउँमा उभिएको सन्देश दिए । यथास्थितिमा माओवादी चल्न नसक्ने निष्कर्ष नेताहरूको छ । तर, विकल्प के ठोस जवाफ नेताहरु सँगै छैन । यद्यपि, विचार मिल्ने पार्टीहरूसँग एकता गर्दै जाने रणनीति माओवादी नेतृत्वको छ ।

वामपन्थी शक्ति निर्माणको लागि मोर्चा हुँदै पार्टी एकतासम्मको प्रयासमा माओवादी छ । चार वटा पार्टी मिलेर समाजवादी मोर्चा पनि बनेको छ । तर, चारतिर फर्किएका दलहरू बीच तत्काल एकताको सम्भावना देखिँदैन ।