Breaking

ओली-विश्व घम्साघम्सी, एमाले नेता खनिय कांग्रेसमाथि (भिडियोसहित)


काठमाडौँ – दशकौंदेखि अस्थिरताबाट वाक्क बनेका नेपाली जनतालाई स्थायित्वको लालच दिने कांग्रेस एमाले यतिखेर सदनमा पहिलो र दोस्रो ठूला पार्टी हुन् ।

स्थायित्वको दन्तबजान गर्ने यी दलहरु मिल्नुको विकल्प संसदीय अंक गणितले दिँदैन । तर, अस्थिरता अन्त्य गर्न मिल्नुको विकल्प छैन भन्ने दुई पार्टीबीच नै जुहारी चलिरहेको छ ।

सबैभन्दा पुराना पार्टी नेपाली कांग्रेस र नेकपा एमाले देशकै पहिलो र दोस्रो ठुलो पार्टी हो । हरेक राजनीतिक परिवर्तनमा सामेल यी दुई पार्टीको टकरावले अहिले तेस्रो ठूलो दलले मुलुकको नेतृत्व गरिरहेको छ । संसदीय व्यवस्थामा पहिलो वा दोस्रो दलबाट प्रधानमन्त्री बन्ने अभ्यास हुँदै आए पनि पार्टी भित्रको जुँगाको लडाईले सत्तामा हुनुपर्ने दल तेस्रो जस्तै बनेको छ । संसदीय अंक गणित हेर्ने हो भने कांग्रेस र एमाले मिल्नुको विकल्प छैन ।

केन्द्रको मात्रै नभई प्रदेशको स्थिति पनि त्यस्तै छ । जसको संकेत अहिले कोशीले गरिरहेको छ । काग्रेस नेता शेखर कोइरालाले पनि कोशीमा लचकता देखाएकाछन् । उनले एमाले र कांग्रेसले आधाआधा कार्यकाल मूख्यमन्त्रीमा सहमति गरेर भएपनि मध्यावधीमा हुन नदिने संकेत गरेकाछन् । अस्थिरतालाई अन्त्य गर्न कोशीमा कांग्रेस एमाले मिल्ने तयारीमा छन् । पछीलो समय कोशीलाई मध्यावधीमा जान रोक्न कांग्रेसमा धेरै जसो नेता एकमत देखिएकाछन् ।

एकातर्फ अस्थिरतालाई अन्त्य गर्न कोशीबाट कांग्रेस एमालेको मिलनविन्दु हुने संकेत देखिए पनि त्यो त्यति सहज भने छैन । कांग्रेसप्रति एमालेले सार्वजनिक मञ्चबाट नै आगो ओकलिरहेको छ । पटक पटक कांग्रेसलाई नेतृत्वको प्रस्ताव गरेका एममाले अध्यक्ष केपी ओलीले अहिले कांग्रेसले नेतृत्वको क्षमता गुमाईसकेको टिप्पणी गर्न थालेका छन् । आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि रुष्ट बनेको एमाले कांग्रेसले आफ्नो दुर्गति आफै रोजेको अभिव्यक्ति दिइरहेको छ । प्रचण्ड कांग्रेसको कानमा समाएर अघि बढ्दा पनि कांग्रेस लुरुलुरु हिडेको भन्दै ओलीले व्यंग्य गर्न भ्याएका छन् ।

ओलीले कांग्रेसलाई उसको हैसियत देखाईरहँदा कांग्रेस पनि एमालेको हैसियत देखाउन चुकेको छैन । ओलीको हैसियत एमालेका युवापुस्तालाई ‘दुनामा खाएर कुनामा बस्न’ बाध्य गराउने मात्रै रहेको कांग्रेस मूल्यांकन छ । पार्टीमा तानशाह प्रवृत्ति लागु गरेको भन्ने खालको जस्तो कांग्रेसको अभिव्यक्तिले एमाले अध्यक्ष ओलीलाई पार्टीभित्र भएको विसंगतीको बारे कांग्रेस महासचिव विश्वप्रकाश शर्माले स्मरण गराएका छन् ।

एमालेका युवा नेताले नेतृत्वलाई प्रश्न गर्न नसक्ने आरोप कांग्रेस महामन्त्री शर्माले लगाईरहँदा उता फेरि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जवाफ फर्काएका छन् । ज्ञवालीले बालकृष्ण खाँणलाई इंगित गर्दै भ्रष्टाचारमा डामिएर जेलसमेत पुगिसकेका नेतालाई निलम्बन गर्नुस् सम्म भन्न नसक्नेले एमालेमा युवा नेताहरु काम लागेनन् भन्न नसुहाउने भन्दै शर्मालाई कटाक्ष गरेका छन् ।

त्यसो त सदनमा दुई ठूला दल मिल्दा प्रतिपक्षी कमजोर हुनु स्वभाविक हो । तर, अहिले नै पार्टीले मिलन विन्दू नभेट्दै एकले अर्कालाई खुईल्यान छाडेका छैनन् । देशका दुई ठूला पार्टीको लक्ष अस्थिरताको अन्त्य गर्दै स्थायित्व दिने हुँदा कोशीको राजनीतिक परिघटनाले केही सकारात्मक सन्देश दिएको थियो । तर केन्द्रमा पार्टीका शीर्ष नेताहरुबीचको दन्तबजानले दुई पार्टीबीचको जुहारीको अन्त्य हुनेमा नै शंका उब्जिएको छ ।