काठमाडौँ – हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको जनाएको छ ।
मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जानकारी दिए । सर्केदेउ गाउँका दलबहादुर रोकायको घर भत्किएको छ ।
रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँलेहरू समस्यामा परेका थिए । सो गाउँका करिब २५ जनालाई घर खालि गराएर सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
जलविद्युत आयोजनामा पनि क्षति पुगेपछि गाउँलेहरु अन्धकारमा रात बिताउन बाध्य छन् । सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । त्यसैले सो स्थानको यकिन विवरण पनि आउन सकेको छैन ।
शुक्रबार नै बाढी पहिरोले क्षति पुर्याएको खबर पाएपछि सदरमुकामबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोली सो स्थानतर्फ पठाइएको थियो । तर बाटो भत्किएकाले सो टोली अगाडि बढ्न सकेको थिएन । त्यसपछि आज फेरि अर्को टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिए ।
प्रतिक्रिया