Breaking

कांग्रेसले रोजेको अधोगतिको बाटो, सिद्धान्तभन्दा व्यक्ति हावी, एक साताको बैठक तमासा मात्र, युवापुस्ता सकिने लक्षण


काठमाडौँ — एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक खास्सै उपलब्धि र सन्देशमुलक हुन सकेन । विचारको मन्थनभन्दा पनि संस्थापन र इतर पक्षको जुंगाको लडाई नै प्राथमिकतामा पर्दा एक साता चलेको बैठक केबल तमासाकै रुपमा मात्रै सीमित हुन पुग्यो । नेपाली कांग्रेसको सात दिन सम्म चलेको केन्द्रिय कार्य समिति बैठकमा राज्यका राष्ट्रिय एजेण्डासँगै भुई मान्छेका सवालहरुमा गम्भीर बहस हुने आँकलन थियो । देशमा घटित राजनीतिक घटनाक्रमले सडकमा देखिएको असन्तुष्टि र भ्रष्टाचारको मुद्धालाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको थियो ।

तर, एक वर्षको प्रतीक्षापछि बल्लतल्ल बसेको बैठक आम जनताका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने जस्तै भएको छ । पार्टीको बैठकले न त कुनै राष्ट्रिय एजेण्डामा आवाज उठायो न त जनजीविकाका सवाललाई सम्बोधन गर्याे । कार्यकर्तालाई समेत सकारात्मक सन्देश दिन चुकेको कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी सभापति शेरबहादुर देउवालाई देवत्वकरण गर्नमा नै सीमित बन्यो । कांग्रेसको बैठक जनजीविकाको मुद्धालाई उठाउन मात्रै चुकेन बरु, बैठकलाई प्रत्येक्ष प्रसारण गरेकोमा नै सफलताको हुंकार गरिरहेको कांग्रेस विचार सिद्धान्तमा आफै नग्न भएको छ । मुलुकको जेठो लोकतान्त्रिक दल कांग्रेस केन्द्रीय समिति बैठकमा सैद्धान्तिक पक्षधरता भन्दा पनि व्यक्ति पक्षधर्ता हावी भएको स्प्रष्ट भएको छ ।

नेतृत्वको स्तुतिगानबाटै आफ्नो राजनीतिक भविष्य देख्ने बहुसंख्यक नेताहरुको चरित्र र आचरणलाई बैठकको प्रत्यक्ष प्रशारणले जनतासामू छताछुल्ल बनाइदिएको छ । बैठकमा संस्थापन र इतर पक्षको टकरावले कांग्रेसमा गुटबन्दी थप मौलाएको स्प्रष्टै देखिन्छ । आफ्नो सम्मुख अघि पार्टी सभामुखलाई देखेका केन्द्रीय सदस्यहरुले नागरिकहरुमा व्याप्त निराशा र वितृष्णाहरुलाई ओझेलमा पारे दिए । भ्रष्टाचार काण्डमा जोडिएका नेता बालकृष्ण खाणलाई जोगाउने विषयले बढी महत्व पाउँदा पार्टी सुदृढीकरणका सवालका एजेण्डाहरु लुप्त भएको छ । देशको ठूलो लोकतान्त्रिक पार्टी भित्र नै आफ्नो स्वतन्त्रतालाई दबाएर नेतृत्वको बन्दी हुँदा कांग्रेस आफैले अधोगतिको पथ रोजेको छ ।

प्रत्येक दुई÷दुई महिनामा बस्नु पर्ने पार्टी केन्द्रीय समितिको बैठक वर्षदिन पछि बस्नुले नै पार्टी अकर्मण्यतातर्फ लागेको पुष्टि गर्छ । बैठकका लागि जतिसुकै रोईकराई गरे पनि बैठकको उपलब्धि भने देउवाले बाहेक अरु कसैले लिन सकेनन् । कांग्रेसमा रुपान्तरण चाहनेहरुका लागि केन्द्रीय समितिको बैठकले खासै प्रभावकारी सन्देश प्रवाह गर्न सकेन । विचारको मन्थनभन्दा पनि संस्थापन र इतर पक्षको जुंगाको लडाई नै प्राथमिकतामा परेको बैठक केबल तमासा मात्रै भएको विश्लेषकको तर्क छ ।

रुपान्तरणका एजेण्डाहरु ओझेलमा पर्दा केन्द्रीय समिति बैठक उपलब्धिमूलक बन्न सकेन । पार्टी सभापति देउवा स्वयम् केन्द्रीय समिति बैठकलाई उपलब्धिमूलक बनाउने पक्षमा नरहेको बैठकले देखाएको छ । बैठकमा देउवा निकट नेताहरुको प्रस्तुतिले पनि उनको योजनाको अड्कल गर्न सकिन्छ । कांग्रेस संस्थागत ढंगबाट चल्न थाले पार्टीमा आफ्नो मनमौजी नचल्ने भयले रुपान्तरणका सवालहरु नियतवश ओझेलमा पारेको बुझिएको छ । कांग्रेसमा यस्तै प्रवृत्तिले जरा गाड्दा युवापुस्ताहरु दोस्रो राजनीतिक दल रोज्न बाध्य बनेका छन् । कांग्रेस यसरी नै अघि बढ्ने हो भने पार्टीमा युवापुस्ता सकिने लक्षण देखिएको छ ।