Breaking

भ्रष्टाचारमा संलग्न जुनसुकै परिवार र पार्टीका भए पनि कारबाही हुन्छः गृहमन्त्री


काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए ।

वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । “भ्रष्टाचार, बेथिती र ठगी विरोधी अभियान रोकिँदैन”, उनले भने, “जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ । मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरे ।