Breaking

संकटमा रास्वपा, विवादमा फसे रवि, सेनाको टिप्पणीले थलिए स्वर्णिम, भ्रष्टाचार मौलाउँदा किन निरीह 


काठमाडौँ — पुराना राजनीतिक दलहरुको विकल्पको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन अपेक्षाअनुसा आफ्नो भुमिका निर्वाह गर्न सकिरहेको छैन । उसो त, संसदमा पनि ‘मिनि एमाले’ को ट्याग बोकेर हिँडेको यो पार्टी न त सरकारका कामहरुमा समर्थन जनाउन सक्छ, न त एमालेलगायत दलहरुसँगै विरोधकै राजनीतिमा रमाउन नै सकेको छ ।

पार्टी गठन भएको १ वर्षमात्रै व्यतित हुँदा आन्तरिक समस्या पनि उत्पन्न हुन थाल्दा अहिलेसम्म पार्टीको विचार र सिद्धान्त के हो ? त्यसको जवाफसमेत दिन सकेको छैन । टेलिभिजन पत्रकारिता गर्दागदै राजनीतिमा हाम फालेका रवि लामिछाने पछिल्लो समय आलोचनाको पात्र बनिरहेका छन् । उनको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विचार र सिद्धान्त स्पष्ट नहुँदा प्रश्नको घेरामा रहेका उनी अहिले फेरि दरिलो संसदीय भुमिका निभाउन नसकेको आरोप खेप्दै आएका छन् । उसो त, आम निर्वाचन र उपनिर्वाचनपछि आक्रमक देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले भने सुस्ताएको चर्चा भईरहेको छ ।

पार्टी स्थापना भएको बल्ल वर्ष पार गर्दै गर्दा पार्टीका नेता, सांसद, कार्यकर्तालगायत पार्टीसँग आबद्ध सबैको रफ्तारमा कमी आएको छ । सडक र सदनमा नै पनि रास्वपाको उपस्थिति बलियो हुने जनअपेक्षा थियो । तर, पुराना राजनीतिक शक्तिहरुकोभन्दा उनीहरु फरक नदेखिएकोमा रास्वपालाई भोट दिएकाहरु चिन्ता व्यक्त गर्छन् । सुशासनलाई पहिलो प्राथमिकतामा राखेको रास्वपाले सरकारले एकपछि अर्को भ्रष्टाचारका फाईल पल्टाउँदा आफ्नो भुमिका स्पष्ट गर्न नसकेको हो । सडकमा रास्वपाको उपस्थिति शुन्य नै छ भने सदनमा पनि एमालेको छायाँमा पर्दा औपचारिकताका लागि मात्रै बोल्ने काम भईरहेको छ ।

पार्टी सभापति आफै नागरिकता र राहदानी दुरुपयोग जस्तो गम्भीर मुद्धामा पर्दा अर्का पार्टी सांसद् ढाकाकुमार श्रेष्ठ अडियो टेप प्रकरणमा निलम्बनमा परे । त्यस्तै विधानअनुरूप पार्टी संचालन गर्नुपर्ने र पार्टीभित्र देखिएका विसंगतिहरु हटाउनुपर्ने आवाज उठाउँदा आवाज दबाउन पार्टीकै एक समूहद्वारा अर्काे समूहमाथि हातपात हुने र सुदूर पश्चिमको बझाङ जिल्ला संयोजकद्वारा पत्रकार कुटिँदा रास्वपाको छविमा नकारात्मक सन्देश गयो ।

स्वर्णिम वाग्ले जस्ता आश गरिएका सांसद् पनि विवादमा मुछिनुले रास्वपाभित्र सुध्रिन नसकेको राजनीतिक संस्कार छताछुल्ल पारिदियो । अहिलेसम्म पनि सिद्धान्त र विचारकै खोजीमा रहेको रास्वपाको आन्तरिक समस्याकै कारण पार्टीको लोकप्रियता घट्ने संकेत गरेको छ । सङ्लो पानीमा हात धुन दिँदा केही नैतिकहीनले पानी नै धमीलो पारिदिएको रास्वापको तर्क छ । गल्ती गर्नु मानवीय स्वभावै भएकाले पार्टीले पनि गल्ती गरेको रास्वपाको स्वीकारोक्ति छ ।

नेपाली राजनीतिमा वैकल्पिक शक्ति भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी आम निर्वाचनपछि आक्रमक रुपमा देखिँदा जनतामा उत्साह छाएको थियो । सधै परम्परागत दलमध्येकै एउटालाई रोज्नु पर्दा रास्वपाको आगमनले साच्चै नै आम मतदाताले विकल्पलाई रोज्ने अवसर प्राप्त गरेका थिए । तर, समय सँग सँगै रास्वपा पनि अघि बढदै जाँदा पार्टीले थकाई मार्न थालेको छ । यस्तोमा राजनीतिक वितिष्णको रुपमा उदाएको पार्टीको उपमा रास्वपाले खेप्न थालेको छ ।

आक्रमक शैलीमा राजनीतिमा पाइला टेकेको रास्वपाको खुट्टा कमजोर हुँदै जाँदा कतिपयले रास्वपालाई भेलबाढीको संग्या दिनसमेत पछि परेका छैनन् । यस्तोमा रास्वपालाई भेडबाढी भन्नेहरुका लागि सभापति रवि लामिछाने र अरु नेताहरुले स्पष्ट जवाफ लिन सकिरहेका छैनन् । जसका कारण कालान्तरमा पार्टीमाथि गरिएको आशा र भरोसामाथि तुषारापातको डर बढेर गएको छ ।