Breaking

दलित भएको थाहा पाएर भाडावाललाई जबर्जस्ती निकाल्ने घरबेटी धरौटीमा छुटे


काठमाडौँ – जातीय विभेद मुद्दामा पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका-१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए ।

अछाम पञ्चदेवल विनायक नगरपालिका(७ का २३ वर्षीय महेन्द्र विकसहित परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबर्जस्ती घरबाट निस्कन लगाएको उजुरी परेको थियो । उनीहरूका कोठाका सामान बाहिर फालिदिएको पीडितले बताएका छन् ।

त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा प्रहरीले असार १६ गते उनलाई नियन्त्रणमा लिएको थियो । यस घटनालाई लिएर प्रदेश र संघीय सदनमा समेत कुरा उठेको थियो । पीडितको न्यायका लागि दाङसहित विभिन्न जिल्लामा दबाबमुलक आन्दोलन पनि भयो ।