Breaking

भन्सारमा मन्त्रीको लस्कर, साँठगाँठ र सेटिङ भत्काउँदै प्रचण्ड, सुन छिर्ने ढोका कसरी बन्द गर्ने ?


काठमाडौँ — राजस्व संकलनको महत्वपूर्ण क्षेत्र भन्सार सीमित राजनीतिक व्यक्ति एवंम कर्मचारी संयन्त्रको सेटिङमा चल्दा राजस्व चुवाहट व्यापक हुने गरेको छ । देशको नाजुक अर्थतन्त्र र मौलाएको अवैध तस्करीले भन्सारमा हुने अनियमितता थप छर्लङ पारेको छ । भन्सारबाट हुने अवैध कारोवारमा सरकारको नजर पुगे पनि यसको नियन्त्रण केवल नारामुखी देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठ चार गते सदनमा सांसदहरुको प्रश्नको उत्तर दिँदै सरकारले राजस्व छली र पूँजीबजार सम्बन्धी ठूलठूला सेटिङ भत्काउन सुरु गरि सकेको दावी गरेका थिए ।

तर साउन ३ गते त्रि–भुवन अन्तराष्ट्रिय विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास समेत पास गरेर एकै पटक भित्रिएको एक सय किलो सुन प्रकरणले प्रधानमन्त्रीको दाबीलाई गलत सावित गरिदियो । प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति दिएको दुई महिना नाघ्न नपाउँदै राज्यको एउटा संयन्त्रबाट सीसीटिभी र स्क्यानर नै छलेर सुन भित्र्याएको घटनाले अवैध कारोवार र सेटिङ भत्काउने प्रधानमन्त्रीको भनाई भाषाण मात्र भएको थप प्रष्ट भएको छ । ठुला परिमाणका अवैध कारोवार सम्बन्धित प्रशासनिक संयन्त्र, कर्मचारीको नियत र मिलेमतो सहितको सेटिङ विना यो असम्भव छ ।

सुन प्रकरणमा विमानस्थल कर्मचारीकै सेटिङमा भएको विश्लेषण यत्रतत्र छ । सेटिङमै अवैध कारोवार हुन्छ भन्ने तथ्यलाई मन्त्रीहरुको बोलीले थप पुष्टि गरिसकेको छ । सुन प्रकरणपछि झस्किएको गृह प्रशासनले भन्सार जाँचपासमा प्रहरीलाई समेत सामेल गराउने विषय अघि सारेको छ । यथेष्ट पूर्वधार र प्रविधिमैत्री अन्तराष्ट्रिय विमानस्थलको भन्सारकै अवस्था यस्तो छ भने अन्य भन्सार कार्यलयको अवस्था कस्तो होला अनुमान सहज छ । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वयमा जोड दिईरहेको छ ।

पहुँचवाला तस्कर र गिरोहलाई सहजता बनाउँदा भन्सारमा कर्मचारी, बिचौलिया र व्यापारीको सेटिङ्गमै अवैध कारोवार मौलाउँदो छ । सुन, लागु औषधदेखि दैनिक उपभोग्य बस्तुको आयातमा समेत भन्सारका कर्मचारीकै ‘सेटिङ’मा ठुलो राजस्व छली हुँदा मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष असर परिरहेको छ । भन्सारमा अवैध कारोवार नियन्त्र गर्न तततत निकायको नियमन अनुगमन र नियन्त्रण गर्न सरकार थप कठोर र गम्भिर बन्न जरुरी छ ।