Breaking

निर्मल पुर्जाको कीर्तिमान तोडियो


काठमाडौँ — एक नर्वेजियन महिला र उनको नेपाली गाइड संखुवासभाका तेन्जिन शेर्पा (लामा)ले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । क्रिस्टिना हारिला र तेन्जिन शेर्पा (लामा)ले पाकिस्तानको केटू हिमाल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका हुन् ।

योसँगै उनीहरुले ९२ औं दिनमा संसारकै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेको रेकर्ड बनाएका छन् । यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए । पुर्जाको कीर्तिमानलाई नेपाली आरोही तेन्जिङ शेर्पा र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा सकेर नयाँ कीर्तिमान बनाएका हुन् ।

‘निर्मल पुर्जाको रेकर्ड संखुभासभाका तेन्जिङ र नर्वेकी आरोही क्रिस्टिनले तोडेकी छन्,’ सेभेन समिटका अध्यक्ष मिग्माले भने, ‘नेपाली मूलका निर्मल पुर्जाले नागरिकता त्यागिसकेकाले विश्वकै १४ वटा हिमाल सबैभन्दा चाँडो आरोहण गर्ने तेन्जिङ अब एक मात्र नेपाली भएका छन् ।’

विश्वकै १४ औं अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गरेका थिए । विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४ दर्जन आरोहीमध्ये थोरै महिला छन् । जसमा ३७ वर्षीया क्रिस्टिन पनि परेकी छन् । आरोहणअघि उनी क्रस–कन्ट्री स्कीकी खेलाडी थिइन् । एजेन्सीहरुका अनुसार, हिमाल आरोहणमा उनी ८ वर्षयता मात्रै संलग्न भएकी हुन् ।