Breaking

बाढीले बगाउँदा बेपत्तासाजन अझै फेला परेनन्, उद्दार कार्य जारी, परिवार विक्षिप्त


गत आइतबार काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी छ ।सशस्त्र प्रहरीको गोताखोर टोलीले सामाखुशी, शोभाभगवती, बल्खु र चोभार गरी चार स्थानबाट खोजी कार्य जारी राखेको हो ।बिहान ४ बजेदेखि रातीसम्म खोजी कार्य जारी राख्दा पनि बालक फेला परेको छैन । काठमाडौंलाई कर्मथलो बनाएका भोजपुरका मनोज मगरलाई कतैबाट ‘बाबा’ भन्ने शब्द सुनिन्छ कि ? भन्ने आश अझै मरेको छैन ।

विहान बेलुका हाँसोमजाक गरेको, स्कुल पुर्याएको, सँगै खाना खाएको याद मनोजलाई आईरहन्छ ।कुनैबेला नपत्याउँदो खोलाले पनि बगाउँछ भन्ने युक्ति नै छ । त्यस्तै भयो, सामाखुशीमा पनि । फुटसल खेल्न निस्किएका मनोजका १३ वर्षका छोरा साजन पनि त्यहि नपत्याउँदो खोलामा आएको बाढीले बगे । साजन बगेको देख्नेवित्तिकै खोजबिन नभएको पनि होइन, तर, आईतबारदेखि हराएका साजन कहाँ पुगे, कस्तो अवस्थामा छन्, कुनै अत्तोपत्तो छैन ।

आईतबारदेखि हराईरहेका साजन पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्थे । भोजपुरको विकट गाउँमा छोराको सुन्दर भविस्य सुनिश्चित नभएपछि राजधानीलाई आफ्नो कर्मथलो बनाएका मनोज छोरा साजनको यादमा हर क्षण तड्पिरहेका छन् । उनी विक्षिप्त छन् । उद्धार टोलीले खोजी कार्य जारी राख्दा छोरा साजन सकुसल नै छन् कि भन्ने आशा मनोमा मरेको छैन ।छोरा बेपत्ता भएको ठाउँमा पुग्दै टोलाएर बस्ने त उनको दिनचार्य नै भइसक्यो ।

बेपत्ता भएका साजनलाई नेपाल प्रहरी, शसस्त्र बल प्रहरी, नेपाली सेनाले खोजिरहेका छन् । नाती बेपत्ता भएको खबर पाएपछि सागरको हजुरबुबा लिला आले मगर पनि भोजपुरबाट रातारात गाडी चढेर काठमाडौं आईपुगेका छन् । काठमाडौं तर अझै उनले नातीको मुख देख्न पाएका छैनन् ।

गाउँमा राम्रो शिक्षा नपाउने भएपछि छोराको परिवारलाई काठमाडौँ पठाएका थिए वेपत्ता वालक साजनका हजुरबुबा लिला आलेले । झम झम परीरहेको पानीलाई पनि बेवास्था गर्दे फुटसल खेल्न क्लबतिर लागेका साजन बर्खाको भेलसँगै बगेको प्रत्यक्षदर्शी बताउँछन् । ठूलो पानी परेकाले नालीको सतह भरिएर पानीको बहाब सडकसम्म आएको थियो । नालामा पानी भरिएर सडककै सतह बराबर हुँदा सडकको किनारा छुट्याउन मुस्किल थियो ।

पानी बग्ने नाला साँघुरो भएकाले वर्षाको पानी राम्ररी पास हुन सकेको थिएन र सडक माथिबाट पनि पानी बगिरहेको थियो । केहीदिन देखि परेको भारी वर्षाको कारण रानीबारीको एनसिएमटी कलेज अगाडिको सडक जलमग्न थियो । एनसिएमटी कलेज अगाडिसम्म सिमेन्टको स्ल्याबले नाला ढाकिएको छ तर अलि पर ह्वाङ्गै छ । साजन जलमग्न सडकको किनारैकिनार हिँडिरहेका थिए । हिँड्दा हिँड्दै साजन अचानक नालामा खसे । नजिकै किराना पसलेहरुले देखे तर गर्न केही सकेनन् । किराना पसल संचालकहरुको आँखै अगाडी केहीबेरमै साजनलाई बाढीले बगायो ।

पछिल्लो समय महानगरले खेपेको आरोप हो भत्काउँने मात्र काम ग¥यो । बनाउन जानेन । खोला निर्वाद रुपमा बग्न पाउँनुपर्छ यसमा कसैको दुईमत छैन् । यही भनाईलाई सिरोधार्य गर्दे महानगरले छोपिएको सामाखुसी खोलामाथिको स्ल्याब पनि निकालेको थियो । खोलालाई आफ्नै बहाबमा बग्न दिनुपर्छ भनेर स्ल्याब खोलिएको हो । तर, भईपरी आउने यस्तो दुर्घटनाबारे महाननगरको ध्यान गएको छ कि छैन त ?

लाखौँ जनङख्या रहेको सहरमा विकट जिल्लाबाट अवसर खोज्न आएका भुइमान्छे मात्र नभएर भिआइपीको बसोबास पनि यही सहरमा हुने गर्छ । तर तिनीहरुको नाङगो आखाँले यो घटनालाई देख्दैन । वर्षौपिच्छे सडक बनाउने नाममा अबौँ स्वाहा बनाउँदा ब्यवस्थित रुपमा एउटा ढल निमार्ण गर्नेतर्फ सरकारको ध्यान जान सकिरहेको छैन ।

सामाखुसीको यो सडकमा सामान्य अवस्थामा पनि हिडडुल गर्न समस्या हुन्छ । अझ स्कुले बालबालिका त कयौँपटक हिलोमा नमज्जाले पछारिएका छन । अभिभावकहरु साना बालबच्चालाई एक्लै छाड्न डराउँछन् । केही गरेरै छाड्ने हुटुहुटी भएका काठमाडौंका मेयर बालेन साह र संघीय सरकारले यस्तो घटना दोहोरिन नदिन केही कदम अघि बढाउने कि ?