Breaking

सुन प्रकरणले तरंगः आक्रामक बन्दै नारायणकाजी, खेदो खन्दै ओली, दोषी को ?


काठमाडौँ — भ्रष्टचारीविरुद्ध निर्मम भएर प्रस्तुत भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ चौतर्फी हमलामा पर्दै गएका छन् । अहिले गृहमन्त्री श्रेष्ठको राजीनामा नमाग्ने सायदै कोही होलान् । श्रेष्ठको राजीनामाको आवाज सदनदेखि सडकसम्म नै उठेको छ । हमलाको सबैभन्दा ठूलो शक्ति एमाले भए पनि उनकै पार्टी र सत्ता घटक दल नै उनीविरुद्ध छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता पक्षका केही नेताहरु गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा कुरेर बसिरहेका छन् । मीटरव्याजी पीडितहरु पनि आफूहरुको माग अनुसार कानुन बन्न नसकेकोमा अहिलेको सरकारसँग सन्तुष्ट हुन सकिरहेका छैनन् ।

सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसका केही नेताहरुसमेत सार्वजनिक मञ्चबाट नै गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । सत्ता साझेदार दलकै नेताहरुबाट राजीनामाको माग हुँदा प्रतिपक्षी एमालेलाई आफू थप बलियो भएको महसुस भईरहेको छ । मीटरव्याजी हुँदै नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणको फाईल खोल्दा समेत निशानामा परेका गृहमन्त्री श्रेष्ठ सुन काण्ड बाहिरिएपछि त झन् एमालेले यसलाई मुद्धाकै रुपमा अघि बढाएको छ ।

सुन तस्करीमा प्रकरणमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्रीकै सम्लग्नताको आशंका गर्दै हैन भने तस्कर को हो देखाउनुपर्ने चुनौती दिएका छन् । तर, यता सबैबाट घेरावन्दीमा परेका गृहमन्त्री श्रेष्ठ त्यसलाई पञ्छ्याउँदै अगाडी बढ्ने मनस्थितिमा छन् । आफ्नो लक्षमा स्पष्ट रहेका उनी भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्न दृढ देखिन्छन् । आफूमाथि चौतर्फी हमला गर्नेहरुले राजीनामा माग्नुलाई अस्वाभाविक मान्नु नपर्ने गृहमन्त्री श्रेष्ठको तर्क छ । विभिन्न ढंगबाट भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक भएको उनको बुझाई छ ।

देशका प्रतिष्ठित व्यक्तिहरु गृहमन्त्री श्रेष्ठले चालेका भ्रष्टाचारविरुद्धको कमदबाट छटपटिएका छन् । जसले गर्दा उनीमाथि चौतर्फी हमला भईरहेको छ । जसको बचाउमा पार्टीका कुनै पनि नेताले बोली फुटाएका छैनन् । पार्टीको नेताबाट भ्रष्टाचारविरुद्धको अभियान थाल्दा पनि माओवादीका कुनै नेताले सार्वजनिक मञ्चबाट त्यसको अपनत्व लिन सकेका छैनन् । यदि यही काम अन्य कुनै पार्टीका नेताले गरेका भए त्यसको स्वामित्व लिन हानाथाप हुन्थ्यो । पहिलो पटक माओवादीका नेताहरु भ्रष्टाचारविरुद्ध लाग्दा पनि सामाजिक सञ्जालमा पार्टीकै नेताको शिकार हुनु परेको छ । तर, माओवादी नेताहरु यसलाई स्वीकार्न तयार छैनन् । उनीहरु सरकारले गरेको सबै काम जानकारी हुन नसकेको वा अनभिज्ञ भएको भन्दै पन्छिन खोजिरहेका छन् ।

गृहमन्त्री श्रेष्ठमाथि हमला गर्ने सबैभन्दा ठूलो शक्ति एमाले भएर उत्रदा उनकै पार्टी र सत्ता घटक दल नै उनी विरुद्धमा छन् । भ्रष्टचारविरुद्ध निर्मम भएर प्रस्तुत भएका श्रेष्ठ प्रत्येक सार्वजनिक कार्यक्रममा आफ्नो बचाउ आफै गर्न बाध्य छन् । भ्रष्टाचारको मुद्धामा एमाले र कांग्रेसका प्रभावशाली नेतालाई चिसो छिडीमा पुर्याउदा र माओवादी भित्रै पनि नारायणकाजीको कामले आफू असुरक्षित ठान्दा सबैको निशानामा गृहमन्त्री श्रेष्ठ परिरहेका छन् ।