Breaking

देउवाको दबदबा, कहाँ हराए सिटौला र प्रकाशमान ? भिडेका गगनलाई के फाइदा ?


काठमाडौँ — एकसातादेखि नेपाली कांग्रेसको केन्द्रिय समिति वैठक जारी छ । झन्डै एक वर्षपछि बसेको केन्द्रिय समिति वैठक पार्टी सभापति भर्सेस महामन्त्री केन्द्रित बन्दा दोस्रो पुस्ताका नेताहरु गौणमा रहे । एक वर्षपछि बसेको एकसाता लामो नेपाली कांग्रेसको केन्द्रिय समिति वैठकमा पार्टी सभापति शेर बहादुर देउवाको जवाफ मात्र बाँकी छ । प्रत्यक्ष प्रशारण भएको वैठकमा केन्द्रिय सदस्य र महामन्त्रीहरुबीच घम्साघम्सीपूर्ण प्रश्न उत्तरको सर्वत्र चर्चामा छ ।

एक वर्ष कुरेर आफ्नो कुरा राख्न पाएका केन्द्रिय सदस्यहरुले पार्टी सभापतिको गुनगान अनि महामन्त्री गगन थापाको आलोचनामा कुनै कसर बाँकी राखेन्न । कांग्रेस वैठक एजेन्डामा भन्दा सभापति देउवा र महामन्त्री गगनमय बन्यो । संधै संस्थापन र इतर पक्षबीच देखिने कांग्रेसभित्रको मतभेद केन्द्रिय समिति वैठकमा भने सभापति भर्सेस महामन्त्री देखिन्थ्यो ।

महामन्त्रीको राजनीतिक प्रतिवेदनलाई एनजिओको वीसलिस्टको आरोपदेखि संसदीय दलको नेताको सपना नदेख्न समेत भन्न भ्याए । संस्थापनइतरतर्फ गगन समुह आक्रमक बने पनि शेखर कोइराला समुह दोधारे बन्दा गगन थापालाई संस्थापन पक्षले पार्टी विरोधीकै रुपमा चित्रण गर्न हरसम्भव प्रयास गरे । पार्टीको फोरममा बोल्न नसक्ने सस्तो लोकप्रियताकै लागि बाहिर बोल्ने आरोप र अनेक आलोचनाको ओइरो झेलेका महामन्त्री थापाले सोमवार एक–एक प्रश्नको जवाफ दिए ।

केन्द्रिय सदस्यहरुको प्रश्नमा विचरा जस्तो देखिएको गगनले सोमवार प्रत्येक प्रश्नको उत्तर दिए । के नयाँ के पुराना सबैलाई पाटीृभित्र चौथो पुस्ताका अझ युवा पुस्ताका गगनले थर्काएरै जवाफ दिए । गगनले बाहिर जस्तै पार्टी वैठकमै सबै केन्द्रिय सदस्यकै अगाडि मौजुदा नेतृत्वलाई विस्थापित गर्ने चुनौतिकै रुपमा अघि सारेका छन ।

पार्टी सभापति र महामन्त्रीबीचको टकरावलाई केन्द्रिय सदस्यहरुले एजेन्डा बनाउँदा पार्टीभित्रका पहिलो पुस्ता र तेस्रो पुस्ता अझ भर्नौ नयाँ पुस्ताको घम्साघम्सीमा पार्टी नै हाँक्ने हुँकार गरेका पार्टीभित्रकै प्रतिपक्ष भनिएका पार्टी सभापतिको दावी गर्ने नेताहरु गुमनाम जस्तै भए । विमलेन्द्र नीधि, प्रकाशमान सिंह, शेखर कोइराला, कृष्ण प्रसाद सिटौला जस्ता नेताहरु तदर्थमै सीमित रहे । कांग्रेस हाँक्छु भन्नेहरु आफै हराए ।

आफुलाई पार्टीको प्रभावशाली ठान्ने यी नेताहरुले के प्रश्न सोधे महामन्त्रीले उत्तर के दिए खासै चर्चामा आएन । अझ चर्चा गर्न लायक रहेन । कांग्रेस वैठकमा दोस्रो पुस्ताका नेता कमजोर देखिए । गुटगत राजनीतिले ग्रस्त कांग्रेसमा पद पाएपछि गुटको रंग समेत परिवर्तन भएको विश्लेषण समेत हुन थालेका छन । वैठक सञ्चालनमा रणनितिक देखिएका सभापति देउवा केन्द्रिय सदस्यहरुको आलोचनाबाट सुरक्षित हुन सफल भए भने देउवा आफ्नो पुस्ताका आफ्ना प्रतिस्पर्धीहरुको व्यवस्थापनमा समेत सफल भएको देखिन्छ ।

मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस, पछिल्लो समय पार्टीभित्र पुस्तान्तरण र रुपान्तरणमा संधै आलोचित कांग्रेस एक पछि अर्को परिवर्तनकारी निर्णय गर्न सफल छन । महाधिवेशनबाट पुस्तान्तरणमा प्रवेश गरेको कांग्रेस केन्द्रिय समिति वैठक नै लाइभ गरेर अर्को क्रान्तिकारी कदम चालिसकेको छ । कांग्रेसभित्र देउवा भर्सेस गगनको दृश्यले कांग्रेसको नेतृत्वमा पुग्न कोइराला परिवार र देउवाबीचको झल्को दिईरहेको छ भने देउवापछिको कांग्रेस उत्तरधिकार गगनलाई हेर्न थालिएको छ ।