काठमाडौँ — सुरक्षाको हिसाबले विमानस्थललाई निकै संवेदनशील मानिन्छ । त्यही विमानस्थलबाट भित्रिएको तस्करीको करिब एक क्विन्टल सुन बरामद भएपछि प्रश्न उठ्नु स्वाभाविकै हो । पटक–पटक विमानस्थलबाट तस्करीका घटना भएका छन् । तर, भरिया र तल्लो तहका केही कर्मचारी मात्रै पक्राउ गर्दै आएका छन् । मूल गिरोहसम्म अनुसन्धान पुग्नै सकेको छैन । हङकङ हुँदै तस्करीबाट भित्रिएको एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागले केही दिनअघि बरामद ग¥यो ।
जाँचपास हुनुअघि एक्स–रेका प्राविधिकले ‘शंकास्पद सामान’ भएको लिखित ‘कैफियत’ जनाएका थिए । तर पनि भन्सार अधिकृतले नजाँची छाडिदिएको पाइएको छ ।कुख्यात अपराधि चाल्र्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिने त्यसै भनेका होइन रहेछन् । रक्षक नै भक्षक भएपछि तस्करहरूको हालिमुहाली चल्ने नै भयो ।
सँधै व्यस्त रहने त्रिभुवन विमानस्थलबाट तस्करीको सुन भित्रिएको यो पहिलो पटक होइन । दशकौँदेखि तस्करीको सुन भित्रिदै आएको अधिकारीहरू दाबी गर्छन । सेटिङ नमिलेपछि बेला बेलामा सुन बरामद हुने गरेको आरोप लाग्ने गरेको छ । त्यत्रो सुन अवैध रुपमा भित्रिदा पनि सुरक्षा निकायले किन सुइँको पाएन ? कि सेटिङमै सबै अनदेखा गरेर बसेका थिए ?प्रमुख प्रतिपक्ष दल एमालेले गृहमन्त्रीमाथि नै प्रश्न उठाएको छ ।
भन्सार जाँचपास भएर छुटेपछि अवैध सामान पत्ता लाग्नुले विमानस्थलको संयन्त्र कस्तो छ भन्ने बुझिन्छ । विदेशमा काम गर्न गएका श्रमिकले ल्याउने थोरै सामानमा आँखा पुग्ने विमानस्थलका कर्मचारीले क्विन्टल सुन किन देखेनन् ? पछिल्लो सुन काण्डले नेपाली राजनीतिमा भूकम्प नै ल्याइदिएको छ । अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छवि धमिलिन पुगेको छ ।
विमानस्थलको सुरक्षामा बाहिरी घेरामा नेपाली सेना हुन्छ । भित्र नेपाल प्रहरीको विमानस्थल सुरक्षा हेर्नेबाहेक लागुऔषध नियन्त्रण ब्युरो, विशेष ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहित सबै विशेष टोली र सशस्त्र प्रहरी बलसमेत खटिएको हुन्छ । बाहिरिनेहरूको सुरक्षा जाँच नेपाल प्रहरीले गर्छ तर, नेपाल प्रवेश गर्ने विन्दुमा कुनै पनि सुरक्षा निकायलाई सुरक्षा जाँचको अधिकार छैन । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अपराधको अनुसन्धान जरैसम्म पुग्ने र दोषीलाई कारबाही गरिछाड्ने दाबी गर्छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्दा एक्स—रे गर्नेसहितका सबै जिम्मेवारी भन्सारका कर्मचारीले लिएका छन् । उनीहरूले पटक—पटक संगठित साँठगाँठमा अबैध सामान छाड्ने गरेको आरोप लाग्दै आएको छ । पछिल्लो एक क्विन्टल अवैध सुन प्रकरण पनि यसकै उदारण हो । जसले मुलुककै प्रतिष्ठामाथि आँच पु¥याइरहेको छ । दोषीलाई कारबाही गरेर आगामी दिनमा यस्तो अपराध नहुने गरी रणनीति बनाएर कार्यान्वयन गर्न जरुरी छ ।


प्रतिक्रिया