Breaking

कांग्रेस वैठकमै प्रचण्डको तारिफ, नेताहरु भन्छन्,– नारायणकाजीको वाहवाही हुँदा, हाम्रा मन्त्री कहाँ छन् ?


काठमाडौँ — संसदको सबैभन्दा ठूलो दलको हैसियत रहँदासमेत यो कार्यकाल नेपाली कांग्रेसको हातबाट फुत्कियो । तेस्रो शक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री स्वीकारेर अघि बढिरहेको नेपाली कांग्रेसले केही महत्वपूर्ण मन्त्रालयसको जिम्मेवारीसमेत पाएको छ । तर, सरकारको राम्रो कामको जस प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किँरातीले लिईरहँदा कांग्रेसबाट मन्त्री बनेकाहरु भने आफ्नो कामको स्वामित्व लिनबाट चुकिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भष्ट्राचार काण्डका विभिन्न फाईलहरु पल्टाउँदा वाहवाही कमाईरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणको फाईल खोल्दै गर्दा अहिलेसम्मकै ठूलो परिमाणमा सुनसहित केही व्यक्ति पक्राउ परेपछि सरकारको प्रशंसा थप चुलिन पुग्यो । सरकारको कामलाई नागरिकले गज्जब भयो भनिरहँदा मुख्य सत्ता घटकको रुपमा रहेको नेपाली कांग्रेस भने सरकारले गरेका राम्रा कामको जस लिन सकिरहेको छैन । कांग्रेसबाट मन्त्री बनेकाहरु आफ्नै पार्टीभित्रबाट आलोचनाको सिकार बनिरहनुपरेको छ ।

वर्तमान सरकारमा नेपाली कांग्रेसबाट ८ जना मन्त्रीहरु छन् । उनीहरुमध्ये केही मन्त्रीको नाम उच्चारण गर्न सकिने अवस्थामा छन् । तर, बाँकी मन्त्री र उनले नेतृत्व गरेको मन्त्रालयबारेसमेत आम नागरिक बेखबर छन् । कारण हो, उनीहरुले आफ्नो नेतृत्वको मन्त्रालय चलाउन नै सकेनन् । मन्त्रालय नै चलाउन सक्ने क्षमता नभएकाहरुलाई मन्त्री बनाएकोले पनि यो सरकारले गरेका राम्रा कामको अपनत्व लिन कांग्रेसले नसकेको देखिन्छ । सरकारका कामकारबाहीको प्रशंसा भईरहँदा कांग्रेसबाट मन्त्री बनेकाहरु भने किन ओझेलमा परे त ? नेता मनोजमणि आचार्य यसो भन्छन् ।

उसो त, कांग्रेसबाट मन्त्री बनेका केहीले प्रसंसा गर्न लायक काम गरेका छन् । स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही सुधारका काम गरेका छन् । देशभरका पूर्ण सरकारी लगानी रहेका अस्पतालहरुमा निःशुल्क बेडका व्यवस्थापन गर्न प्रयास गरिएको छ भने गरीव तथा विपन्न वर्गका लागि केही उल्लेखनीय कदम अघि बढेका छन् ।

स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गर्दै गर्दा स्वयम स्वास्थ्यमन्त्री बस्नेत नै आफ्नो कामको प्रचार गर्दै हिँड्नुपरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले चाहे भने प्रचण्ड नेतृत्वको सरकार क्षणभरमा नै गिराउन सक्छन् । तर उनी त्यसो गर्न चाहिरहेका छैनन् । तर, कांग्रेसबाटै मन्त्री बनेकाहरुले आफ्नै पार्टीभित्र विश्वास दिलाउन नसकिरहेका हुन् ।