Breaking

सत्ता संकट निम्तिँदै, कम्युनिष्ट मिलाउँदै चीन, गठबन्धन फुटे के गर्छ कांग्रेस ?


काठमाडौँ — आईतबार नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युन नेतृत्वको एक टोलीले काठमाडौंमा शिष्टाचार भेटवार्ता गरिरहेको छ । तर यहि समयमा प्रमुख कम्युनिष्ट नेताहरु, प्रधानमन्त्री पुष्पकमहल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल नेपालमा छैनन् । माओवादी केन्द्रले एउटा टोलि भारतसमेत पठाएकोमा पछिल्लो राजनीतिक भ्रमण र घटनाक्रमलाई रहस्यमको रुपमा हेरिएको छ ।

गएको जेठमा मात्रै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्नीप्रसाद सापकोटा नेतृत्वको एक जम्बो टोलीले चीन भ्रमण गर्यो । २० सदस्यीय जम्बो टोली बोकेर १५ दिनसम्म चीनमा रहेका पूर्व सभामुख सापकोटाले त्यतिबेलै भनेका थिए, भ्रमण निक्कै फलदायी भयो । उसो त नेकपा माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकलाई चीन परस्तको ट्यागसमेत लाग्ने गरेको छ । नेपालका कम्युनिष्टहरु मिल्ने या विभाजित के हुने भन्ने मुख्य हात चीनको रहने गरेको भनेर बेलाबेला आरोप लाग्ने गर्छ । यस्तोमा नेपालका प्रमुख कम्युनिष्ट शक्तिहरु विपरित कित्तामा रहँदा चिनियाँ कम्युनिष्ट नेताहरुको चहलपहल नेपालमा राम्रैसँग हुने गरेको छ ।

उसो त, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन च्या च्युन नेतृत्वको एक टोली तीनदिने शिष्टाचार नेपाल भ्रमणमा रहँदा दुई ठूला कम्युनिष्ट पार्टीका नेताहरु भने नेपालमा छैनन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ईटालीको रोम भ्रमणमा छन् भने उनले भर्चुअल माध्यमबाट चिनियाँ टोलीसँग वार्ता गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि विदेश भ्रमणमै छन् ।

प्रचण्ड र ओलीपछि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आइतबार रातीबाट नेपालमा छैनन् । अध्यक्ष नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति इन्डोनेसियातर्फ गएका हुन् । यहि समयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको एक टोली पनि भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेको छ । भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा ६ दिने भारत भ्रमणमा भुसालको टोली दिल्ली पुगेको हो । चीनियाँ कम्युनिष्ट नेताहरु नेपाल आएकै दिन भुसाल नेतृत्वको टोली भारत गएको हो ।

चिनका कम्युनिष्ट नेताहरु नेपालमा ओहिरिँदा भारतका नेताहरुको चहलपहलसमेत नेपालमा बाक्लिएको छ । यसअघि भाजपाका नेताहरुले नेपाल भ्रमण गरेर फर्किसकेका छन् । वर्तमान सत्ता गठबन्धनभित्र बेलाबेला खटपट देखिँदा कम्युनिष्ट शक्तिहरुबीच फेरि पुनर्मिलनको विन्दु खोजिँन थालिएको गाईंगुई भईरहेको छ ।

त्यसैलाई मलजल गर्नेगरी चीनका कम्युनिष्टहरु नेपाल आउँदा नेपालका ३ ठूला कम्युनिष्ट शक्तिका नेतृत्व विदेश भ्रमणमा निस्किएको चर्चा भईरहेको छ । नेपालका कम्युनिष्ट शक्तिहरुलाई फेरि एकपटक पुनर्मिलन गराउन छिमेकी देशहरुको चहल पहल बढ्दै गर्दा वर्तमान सत्ता गठबन्धन फुट्ने र सत्ता समिकरण नै परिवर्तन हुने छनकसमेत पैदा भएको छ ।