Breaking

माधवलाई पार्टी धान्नै धौ-धौ, फर्किए कार्यकर्ता एमालेमा (भिडियोसहित)


काठमाडौँ – गठबन्धनको साहारामा राजनीतिक यात्रा गरिरहेका माधव नेपालले आफ्नो र पार्टी दुवैको औचित्य गुमाउँदै गएका छन् ।

पार्टी स्थापना भएको दुई वर्ष पुग्नै लाग्दा एकीकृत समाजवादी भित्र भित्रै खोक्रो हुँदै गएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले, नेपाली राजनीतिमा आफ्नो प्रभाव र अस्तित्व गुम्दै गएको महसुस गर्न थालेका छन् । हिजो आज सार्वजनिक मञ्चहरुबाट दिने अभिव्यक्तिबाट पनि माधवको छटपटहाट देखिन थालेको छ ।

अघिल्लो दिन कांग्रेस कम्युनिष्ट अपरिहार्य रहेको तर, प्रतिगामीहरु यही अपरिहार्य भएको गठबन्धन तोड्न षड्यन्त्र गरिरहेको भनेका उनले त्यसको २४ घण्टा वित्न नपाउँदै कम्युनिष्टहरुले खुद्रा दोकान थापेर नहुने भन्दै एक ढिक्का हुनु पर्नेमा जोड दिए । माधवलाई एकातिर गठबन्धन फुट्ला भन्ने पीर परेको छ भने अर्काेतर्फ कम्युनिष्टकै हवालामा लामो समयदेखि राजनीतिमा जमाइरहेको साख गुम्ने डरले अत्तालिएका छन् ।

देउवा–प्रचण्ड सबैले आफ्नो प्रयोग मात्रै गरेपछि माधवको छटपटी र तनाव सतहमै आएको हो । माधवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव दिएर प्रयोग गर्न खोजे । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले फुटाउन प्रयोग गरे भने, सबैभन्दा बढी प्रयोग त प्रचण्डले गरेका छन् । एमालेमा फुट ल्याउन देखि आफू प्रधानमन्त्री बन्न र एकीकृत समाजवादीलाई कमजोर बनाई समाजवादी मोर्चाको गठन गर्न माधवको प्रयोग भएको छ ।

त्यस्तै प्रचण्ड बिस्तारै एकीकृत समाजवादीलाई माओवादीमा नै मिसाउन प्रयासरत छन् । माधवको छटपटाहटको कारण खाली शीर्ष दलका नेताहरु मात्रै पनि होइन । उनका आफ्नै दलका नेताहरु पनि माधवको कार्यसँग सन्तुष्ट छैनन् । पटक पटक देउवा प्रचण्डसँग रोइकराई गर्दा पनि मुख्यमन्त्रीबाट हात खाली हुँदा प्रदेशमा नेतृत्व विहीन हुनु परेको छ ।

केन्द्रैमा पनि अरुले छोडेका वा बचेकुचेका २ मन्त्रालय पाए पछि अन्य मन्त्री हुन नपाएका सांसदहरु माधवसँग रुष्ट छन् । मन्त्री बनेकाहरुले पनि काम गर्न नसकेको भन्दै पार्टीभित्रै आलोचना भईरहेको छ । पार्टीभित्र प्रभावशाली मानिएका घनश्याम भुुसाल, रामकुमारी झाँक्री जस्ता नेताहरु निष्क्रिय प्राय बनेका छन् । बोल्दा आलोचना हुने हुँदा बरु बोलेर छुचो हुनु भन्दा नबोलेरै राम्रो हुने मनस्थितीमाछन् ।

पार्टी स्थापना भएको दुई वर्ष एक महिनामात्र बाँकी छ, तर स्थापित नेताहरुद्वारा निर्मित पार्टी विस्तार हुनुभन्दा झन् ओरालो लागिरहेको छ । नेता कार्यकर्ताहरुले पाटी परित्याग गर्दै उही पुरानै घर एमाले फर्कन थालेका छन् । दुई दिनभित्रै तनहुँ जिल्ला अध्यक्षसहित २५ कार्यकता र रामेछापका जिल्ला अध्यक्ष पनि सिंगो टिमसहित एमालेमै फर्किएका छन् । त्यस्तै यो क्रम निरन्तर बढि नै रहेको छ ।

एक सातासम्म चलेको पार्टी सचिवालयको बैठकले पनि माधवले पार्टीलाई गति दिन नसकेको निष्कर्ष निकालेको छ । पार्टीभित्रैका नेताहरुमा असन्तुष्ट बढ्दै जाँदा माधव आफैलाई पनि ललिता निवास प्रकरण टाउको दुखाईको विषय बन्दै गएको छ । आफ्नो पालामा प्रधानमन्त्री क्वाटर विस्तारमा मात्रै अनुमति दिएको बयान दिँदै आएका माधवकै पालमा १८ फुटे चौडा बाटो निर्माण भएको पनि खुल्न आएको छ ।

जसले गर्दा उनलाई स्पष्टीकरण दिँदैमा हैरानी खेप्नु परेको छ । शीर्ष नेता देखि आफ्नै दलका नेता र देशमा घटित राजनीतिक गतिविधिले पनि एकीकृत समाजवादीका अध्यक्ष माधव तनावको शिकार बनेका छन् ।