Breaking

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या


काठमाडौँ – नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरीको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरीले जनाएको छ । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।