काठमाडौँ — आँट र साहस देखाउँदै केही चर्चा कमाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ पछिल्लो समय सुन काण्डले विवादको शिकार बनेका छन् । प्रतिपक्षी र सत्ता पक्षले नै राजीनामाको माग गरिरहँदा ताली नै तालीमा रमेका मन्त्री श्रेष्ठलाई पिरोलेको परेको छ । देशको सुरक्षा गर्ने जिम्मा पाएको गृह मन्त्रालय अन्तर्गतको सबैभन्दा ठूलो सुरक्षा चुनौती भएको अद्यागमनबाटै क्विन्टलका क्विन्टल सुन बाहिर निस्किसकेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना भईरहेको छ ।
सुरुवाती चरणमा सुशासनको कुरामा खरो भएर उत्रिएपछि जनताबाट तालीको वर्षा पाएका श्रेष्ठमाथि सुन काण्ड प्रकरणमा भने औल उठाउने काम भएको छ । माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई सुन तस्करी मुद्धामा बचाएको आरोप लाग्दा शंकाको घेरामा परेका उनलाई यस प्रकरणले थप पिरोलेको हो ।राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईलेसुन प्रकरणमा गृहमन्त्री श्रेष्ठकै संलग्नता रहेको आरोप लगाउँदै निष्पक्ष छानविनमा आशंका व्यक्त गरिरहेका छन् । यद्यपि,राजस्व अनुसन्धान अन्तर्गत एउटा छानविन समिति नै गठन गरेर अघि बढेका गृहमन्त्रीले अवैध सुन भित्र्याउने काण्डमा जोसुकैको नाम मुछिए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
अहिले मन्त्रिपरिषद्मा भएका मन्त्रीहरु मध्ये जनतालाई महसुस हुने गरि कसैले काम गरेका छन् भने गृहमन्त्री श्रेष्ठ नै हुन् । यसमा कुनै दुई मत रहने कुरै भएन । पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उपप्रधानमन्त्री टोपबहादुर रायामाझीजस्ता ठूला माछालाई कानुनी कठघरामा ल्याएर अनुसन्धान प्रत्रिया अघि बढाएकोमा वाहवाही पाएका र अख्तियारले नै छानविन गर्न छोडेको ललिता निवास प्रकरणमा सीआईबी परिचालन गरेर मुद्धा व्युँताएका उनै गृहमन्त्री श्रेष्ठ सुन प्रकरणमा भने आलोचनाका पात्र बन्न पुगेका हुन् ।
मन्त्रालयमै सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्नेदेखि भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन चाहारिरहेका छन् । तर, आँट र साहस देखाउँदै केही चर्चा कमाएका गृहमन्त्री श्रेष्ठ सुन काण्डले विवादको शिकार भएपछि गठबन्धनकै निशानामा पर्न थालेका छन् । मीटरव्याजी पीडित र प्रतिपक्षी एमालेको आँखाको छारो बनेका गृहमन्त्रीलाई अहिले नेपाली कांग्रेसकै नेताले राजीनामा माग्न थालेका छन् ।
मन्त्री र सचिवका लागि अतिरिक्त आम्दानी हुने मलिलो व्यवस्था सुराखी भत्ताको खारेजीले श्रेष्ठको ग्राफ उकालो लागेको थियो । सुशासन कायम गर्न रफ्तारका साथ डण्डा चलाइरहेका मन्त्री श्रेष्ठको गठबन्धनभित्रैबाट राजीनामा माग हुनुले राजनीतिक प्रतिशोधको गन्ध आएको कतिपयको बुझाई छ । तर, आफ्नै मातहतको निकायबाट यत्रो ठूलो परिमाणमा सुन फुत्किदा उनीमाथि प्रश्न उठ्नु स्वभाविक पनि छ ।
सुशासनलाई नै आफ्नो गन्तव्य बनाएका मन्त्री श्रेष्ठ पछिल्लो समय माओवादीको बचाउ र प्रतिपक्षलाई बदनामित गराएका आरोप खेपिरहेका छन् । संसद् र समितिहरुमा नै उनको कामलाई लिएर प्रश्न समेत उठाउन थालिएको छ । ताली नै तालीमा रमाइरहेका श्रेष्ठले अहिलेको सुन काण्ड पछि भने एक्कासी आलोचनाका पात्र बन्न पुगेका छन् ।


प्रतिक्रिया